२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा

कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा

अदालतको आदेशलाई चुनौती दिदैं क्षयरोग संस्थाःकोशी अस्पताललाई मासिक भाडा दिएपछि फार्मेसीमा ताल्चा


विराटनगर–विराटनगरको हस्पिटचोकमा रहेको नेपाल क्षयरोग निवारण संस्था मोरङ अदालतले गरेको फैसलालाई चुनौती दिएर काम गरिरहेको पाइएको छ । उच्च अदालत विराटनगरले तीन वर्ष अगाडि गरेको फैसलालाई चुनौती दिने गरी संस्थाले काम गरेको पाइएको हो ।

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवसायिक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै त्यहाँ रहेको फार्मेसीमा तालाबन्दी गरिदिएको छ । अस्पतालको स्वामित्वमा रहेको सटरको मासिक भाडा कोशी अस्पताललाई बुझाएको भन्दै संस्थाले विराटनगर–७ हस्पिटल चोकमा रहेको प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेसी’मा १९ भदौंदेखि ताल्चा लगाइदिएको हो ।

क्षयरोग निवारण संस्थाले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालको स्वामित्वमा रहेको फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो ।

उच्च अदालतले गरेको फैसला

अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा. रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेसीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन २ भदौंमा पत्राचार गरेका थिए । अस्पतालले श्रेष्ठ खाजा घर, मदिना होटेल खाजा घर, पशुपति किराना पसल, पूर्वाञ्चल बायो मेडिकल सोलुसन, खुश्बु खाजा घर, सहिम मोटरसाइकल र न्यू बाबा होटललाई सटर भाडा बुझाउन पत्राचार गरेको थियो ।

सटर भाडा अस्पतालमा बुझाउन २ भदौमा गरेको पत्राचार ।

प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेसीले ९ भदौंमा कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि १९ भदौंमा नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेसीमा ताल्चा लगाइदिएको सञ्चालक मुखियाले बताए ।

उनले विगत आठ वर्षदेखि हस्पिटल चोकमा फार्मेसी सञ्चालन गर्दै आएका छन् । ‘कोशी अस्पतालले मुद्दा जितेपछि भाडा बुझाउन पत्राचार गरेको थियो । त्यसपछि साउन महिनादेखि भाडा अस्पतालमा बुझायौं,’ उनले भने, ‘यता क्षयरोग निवारण संस्थाले किन अस्पतालमा भाडा बुझाएको भन्दै कर्मचारी लगाएर पसलको सटरमा ताल्चा लगाइदिएको छ ।’ सटरमा ताला लगाएकोबारे अस्पताललाई जानकारी दिएको भएपनि निकास नभएको उनले बताए ।

मोनिका फार्मेसीले अस्पताललाई भाडा बुझाएको रसिद

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले दुई संस्थाबीचका विवादलाई लिएर यसरी फार्मेसीमै तालाबन्दी गर्नु राम्रो नभएको बताए । ‘छलफलको माध्यमबाट निकास निकाल्नुपर्ने थियो । विरामीलाई अति आवश्यक पर्ने औषधी बिक्री वितरण हुने फार्मेसीमा ताल्चा लगाउनु यो गलत हो,’ उनले भने, ‘लगाएको ताल्चा तत्काल खोल्नुपर्छ । नभए व्यवसायीहरु आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

अस्पपतालका मेसु डा. सिंहले अदालतले फैसला गरेर कोशीको स्वामित्वमा रहेको सटर भाडा उठाउनु अस्पताल प्रशासनको दायित्व रहेको बताए । अहिलेसम्म एउटा सटरको मात्रै भाडा उठेको उनले जानकारी दिए । ‘अरु सटरलाई पनि हामीले पत्राचार गरेका छौं । अस्पतालको स्वामित्वमा रहेको सबै सटरको भाडा अस्पतालले उठाउँछ,’ उनले भने ।

क्षयरोग निवारण संस्थाले भाडावापत मासिक १२ देखि २० हजारसम्म रुपैयाँसम्म लिने गरेको छ । अस्पतालको जग्गामा संरचना बनाएर भाडा लगाएवापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रूपैयाँभन्दा बढी भाडा उठाइरहेको छ ।

नेपाल क्षयरोग निवारण संस्था मोरङले मोनिका फार्मेसीमा लगाएको ताला ।

कोशी अस्पतालको जग्गा कब्जा

कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई पटक–पटक हट्न भनेर पत्राचार गर्दासमेत जग्गा खाली भएको छैन । महेश भट्टराई कोशी अस्पताल विकास समिति अध्यक्ष रहेको बेला पटक–पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक पहुँचको आडमा कब्जा गरिराखेको विकास समितिका तत्कालिन सदस्य मुकेश बुढाथोकीले बताए ।

राजनीतिक आडभरोसामा विभिन्न संघ—संस्थाले सरकारी अस्पतालको जग्गामा भवन र संरचना बनाएर व्यापार गर्दै आएका छन् । संघसंस्थाले भाडामा लगाएको भवनको रकम व्यक्तिगत रुपमा समेत उपयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा रहेको छ । उक्त जग्गामध्ये विभिन्न संघ—संस्थाले १५ कट्ठाभन्दा बढी जग्गा कब्जा गरेका छन् । अस्पतालको जग्गा क्षयरोग निवारण संस्था, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालयलगायतले कब्जा गरेका छन् ।

जग्गामा बनाएको संरचनाबाट उठ्ने भाडासमेत ती संस्थाहरुले नै प्रयोग गर्दै आएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको जग्गा ओगटेर बनाइएका तीन वटा भवन भने यसअघि नै भत्काइएको थियो । अस्पताल प्रशासनका अनुसार गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले अढाई कट्ठा, नेपाल रेडक्रस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगटेका छन् । जग्गामा संरचना बनाएर ३० जनालाई भाडामा लगाइएको छ ।

गणेश मन्दिरले संरचना बनाएर गणपति पत्रपत्रिका पसल र उज्ज्वल फर्मालाई भाडामा लगाएको छ । यस्तै कलश फर्मा, बालबालिका क्लिनिक, किसान जनरल स्टोर र श्रुति फार्मेसीलाई भाडामा लगाएको छ । आफैंले पनि जग्गा प्रयोग गरिरहेको मन्दिरले भाडावापत मासिक एक लाख ६० हजार रूपैयाँभन्दा बढी उठाइरहेको छ ।

देवकोटा पुस्तकालयले पान पसल, देवकोटा होटल, सुपर संगीत आर्ट, मःम पसल, देवकोटा हेयर कटिङ शैलुन, किराना पसल, ए–वान हेयर कटिङ शैलुन, भट्टराई पान पसल, शक्तिमाता हार्डवेयर, खिलेश्वर ट्रेड सप्लायर्सलगायतलाई भाडामा लगाएको छ ।

त्यस्तै, रेडक्रसले संरचना बनाएर वाणिज्य बैंकदेखि मेडिकल हल, फोटो स्टुडियो र किराना पसललाई भाडामा लगाएको छ । उसले भाडावापत मासिक डेढ लाख हाराहारी उठाउने गरेको छ । रेडक्रसको भवन नै अस्पतालकै जग्गामा छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ