२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’

निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’


काठमाडौं—निजी मेडिकल कलेज संचालकहरुको प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई सेसन एमबीबीएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्न आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको ‘एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’को टिमले दुई सेसनमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गर्न दिएमा आफूहरुले ३० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने बताएको छ ।

‘हामी प्रधानमन्त्रीलाई नेपालको सम्रग स्वास्थ्य, चिकित्सा शिक्षाको विकास, प्रवर्द्धन, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी गराउन गएका थियौं’ एसोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले भने, ‘हामीले सबै समस्या राख्यौं ।’

उनले सिट संख्या बढाएर नेपाली विद्यार्थीहरुलाई विदेश जानबाट रोक्ने अवस्था सिर्जना गर्न आफूहरुले आग्रग गरेको बताए । ‘सिट कम भएर विद्यार्थीहरु एमबीबीएस अध्ययन गर्न विदेश जान बाध्य भए । अहिले १०० सिट मात्रै छ । कम्तिमा १५० सिट बनाऔं भनेर हामीले आग्रह ग¥यौं,’ उनले भने, ‘नभएर दुई सेसन २०० सिट बनाएर एमबीबीएसको अध्यापन गराऔं भनेर हामीले भन्यौं ।’

निजी मेडिकल कलेज संचालकहरुले प्रधानमन्त्री समक्ष दुई सेसनमा विद्यार्थीहरु पढाउँदा ४ हजार विदेशी विद्यार्थी भित्र्याउन सकिने प्रधानमन्त्रीलाई बताएका थिए । ‘अहिले वर्षमा ५६७ विदेशी विद्यार्थी भित्रिन्छन्, त्यसवापत नेपालमा ५६७ करोड रुपैया विदेशी मुद्रा भित्रिन्छ,’ डा. कार्कीले भने, ‘४ हजार विद्यर्थाी ल्याउँदा ४ हजार करोड भित्रिन्छ भनेर हामीले उहाँलाई भनेका छौं ।’

प्रधानमन्त्रीले पहिले स्वदेशी विद्यार्थीहरुलाई पढाउनुपर्नेमा प्राथमिकता दिएको डा. कार्कीले बताए । ‘उहाँ हाम्रा कुरामा पोजेटिभ हुनुहुन्थ्यो । पहिले नेपाली विद्यार्थीलाई पढाउने वातावरण बनाऔं भनेर भन्नुभयो,’ उनले थपे, ‘सिट संख्या र दुई सेसन चलाउँदा नेपाली विद्यार्थीलाई ३० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँछौं भनेर हामीले भन्यौं ।’ अहिले निजी मेडिकल कलेजले नेपाली विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदैं आएका छन् भने सरकारी मेडिकल कलेजले ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँछन् । निजी मेडिकल कलेजबाट ३० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाएमा झण्डै ६०० विद्यार्थीले खर्च नगरेर निःशुल्क एमबीबीएस पढ्न पाउने डा. कार्कीले बताए ।

‘उहाँले एकदमै सकारात्मक हुनुहुन्छ । कानुन परिवर्तनलगायतका कुराहरु हेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने । निजी मेडिकल कलेज संचालकहरुले नर्सिङ शिक्षाले पछिल्लो समय खेपिरहेको समस्याका विषयमा पनि प्रधानमन्त्रीलाई अवगत गराएका छन् । ‘अहिले नर्सिङको प्रडक्टसन पनि निकै घटेको छ,’ उनले भने, ‘यस विषयमा पनि हामीले प्रधानमन्त्रीलाई अवगत गराएका छौं ।’

डा. कार्कीकाअनुसार पिजी रेजिडेन्सी गरिरहेका विद्यार्थीहरुका सन्दर्भमा चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेज व्यवसायीहरुबीच चलेको विवादका विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी दिइएको छ । विश्वविद्यालयहरु र आयोगले रेजिडेन्सी गरिरहेका विद्यार्थीलाई ८ औं तहको मेडिकल अधिकृतसरह स्टाइपेन्ड दिनुपर्ने भन्दैं मेडिकल कलेजहरुलाई पत्राचार गरेको छ । तर, मेडिकल कलेजहरुले त्यति रकम दिन नसक्ने बरु पिजीमा भर्ना नलिने अडानमा छन् । अहिले निजी मेडिकल कलेजले रेजिडेन्सी गरिरहेका चिकित्सकलाई २० हजार रुपैयाँ स्टाइपेन्ड उपलब्ध गराउँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ