२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त

नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त

अस्पतालका केही सेवा पूर्ण रुपमा ठप्प


काठमाडौं—अस्पताल विकास समितिको सल्लाह बिना नै दुई महिनाअघि नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मो. एनामुल हकले एकैपटक ४६ कर्मचारी निकालेपछि अस्पतालका सेवा नै अस्तव्यस्त भएका छन् । २१ जेठमा निमित्त मेसु हकले सूचना निकालेर एकैपटक ११ जना मेडिकल अधिकृत, १ जना दृष्टि विशेषज्ञ, १२ स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, १ जना बायोमेडिकल टेक्निसियन, ५ जना रेडियोग्राफर, १ जना फर्मेसी सहायक, ३ जना अहेब, ७ जना कार्यालय सहयोगी, २ जना स्वीपरलाई बर्खास्त गरेका थिए ।

निकालिएका कर्मचारीहरुको लिष्टमा ४६ जनाको नाम भएपनि ६० जना हाराहारीमा कर्मचारीहरु निकालिएको अस्पताल निकट स्रोत बताउँछ ।कर्मचारी अभाव भएपछि १८ शैय्याको अति संवेदनशील सघन उपचार कक्ष १० शैय्यामा झारिएको छ । ८ शैय्याको मुटु सघन उपचार कक्ष नै ताला बन्द अवस्थामा छ । मुटुजस्तो संवेदनशील अंगको उपचार हुने सो कक्ष बन्द हुँदा वीरगञ्जका निजी अस्पताललाई फाइदा पुगेको छ ।

२५ शैय्याको आकस्मिक कक्षको १० शैय्यामा मात्रै पूर्ण रुपमा संचालनमा छ । १५ शैय्या अव्जरभेसन राम्रोसँग संचालनमा छैन । दैनिक १ सयदेखि १५० बिरामी आउने आकस्मिक कक्ष एक जना चिकित्सक र २ जना हेल्थ असिस्टेन्टको भरमा संचालन भइरहेको छ । यसअघि ३ जना चिकित्सक र ४ जना हेल्थ असिस्टेन्ट रहेका थिए ।

केही समयअघि सुरु भएको २० शैय्याको पिएनसी सेवा बन्दकै अवस्थामा रहेको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता बताउँछन् । निमित्त मेसुले आफूखुसी कर्मचारी निकालेसँगै एनआईसीयु १३ शैय्याबाट घटेर ८ शैय्याबाट मात्र सेवा दिने अवस्थामा पुगेको छ । पोष्टअपमा नर्सिङ स्टाफ कम भएका कारण दैनिक २० देखि २५ वटा शल्यक्रियामार्फत बच्चा जन्मने गरेकोमा अहिले घटेर ८ देखि १० वटामा झरेको छ ।

अस्पतालले संचालन गरेको ओपीडी फार्मेसी सेवा पनि बन्द भएको छ । अस्पतालको ओपीडी फार्मेसी बन्द हुँदा बिरामीहरु बाहिरका फार्मेसीमा महंगो मुल्यमा औषधि किन्न बाध्य छन् ।

एकातिर स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पतालको लाइन घटाउने भाषणमा मस्त छन् भने अर्कोतिर नारायणीका मेसु भएका कर्मचारी हटाएर अस्पतालको सेवा नै अस्तव्यस्त पारीरहेका छन् ।

२१ जेठमा निमित्त मेसु हकले एकैपटक निकालेका कर्मचारीहरुको सूचनामा अस्पतालको दरबन्दी बिना नै दैनिक ज्यालादारी करारमा काम गरिरहेको हुँदा २२ जेठबाट काममा नआउन भनिएको छ ।

सेवा प्रवाहमा समस्या भएको विषयमा निमित्त मेसु डा. हकसँग जिज्ञासा राख्दा शतप्रतिशत वेड अकुपेन्सी भएको तर स्वास्थ्यकर्मी कम भएका कारण केही समस्या आएको बताए । ‘१०० प्रतिशत अकुपेन्सी छ,’ उनले भने, ‘कर्मचारी कम छन्, बाहिर आएजस्तो होइन, केही समस्या भएको हो ।’ उनी स्टाफ नर्स कमी भएको र त्यसका लागि सूचना प्रकाशित गरेको तर केही नमिलेर मन्त्रालयले तत्काल स्थगित गरेकाले त्यो बाटो खुल्नासाथ समस्या समाधान हुने बताउँछन् ।

डा. हकले निकालिएका कर्मचारीहरु दरबन्दी बाहिरका स्वास्थ्यकर्मीभन्दा पनि प्रशासन र कार्यालय सहयोगीस्तरका बढी भएको हुँदा तिनले सेवा प्रवाहमा समस्या पारेको भन्नेमा सहमत देखिएनन् । उनी ती कर्मचारीको ९ महिनादेखि तलबमा समस्या भएको बताउँछन् । ‘निकालिएका अधिकांश प्रशासन र कार्यलय सहयोगीस्तरका कर्मचारी हुन्,’ उनले भने ‘त्यहाँ स्वास्थ्यकर्मी कम छन् । तिनका कारण समस्या भएको होइन् ।’ तर, हेल्थआवाजलाई प्राप्त निकालिएका कर्मचारीहरुको सूचीमा भने प्रशासन तर्फका कर्मचारी छैनन् । त्यसैगरी, ४६ जनामा ७ जना मात्र कार्यालय सहयोगी रहेका छन् ।

नारायणीका मेसुले विकास समितिले करार ज्यालादारीमा राखेका यति धेरै स्वास्थ्यकर्मी एकैपटक एकलौटी रुपमा निकालेपछि अस्पतालको सेवा अस्तव्यस्त परेको भन्दै अस्पताल विकास समितिले विज्ञप्ति निकालेर ध्यानाकर्षण पनि गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष गुप्ता प्रक्रियागत रुपमा नमिलेको भएपनि सरसल्लाह गरेर निकालेको भए समस्या नहुने बताउँछन् ।

‘नेपाल सरकारको १५० शैय्याको अस्पताल स्वीकृत छ, अहिले ४५० शैय्या संचालनमा छ,’ उनले भने, ‘सरकारको दरबन्दीमा रहेको जनशक्तिले मात्र त कहाँ पुग्छ र विकास समितिको अस्थायी दरबन्दी स्वीकृत गरेर प्रक्रियामा लैजान पनि त सकिन्थ्यो । एकै पटक कर्मचारी निकालेपछि सेवा प्रवाहमा समस्या त हुने भइहाल्यो नि ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ