२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन्

विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन्

औषधिको अनुचित भण्डारण गरेपछि डिडिएले लगायो ताला


विराटनगर—विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेसीले सिलबन्दी गरिएको छ । आइतबार दिउँसो औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरले दिलावर खानले संचालन गरेको फार्मेसी सिलबन्दी गरेको हो ।

उक्त फार्मेसीले बिरामीलाई खुलेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधिको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारण गरेको पाइएपछि सिलबन्दी गरिएको हो । डिडिए विराटनगरका फार्मेसी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा जटिल किसिमको कैफियत भेटेपछि सिलबन्दी गरिएको बताएको छ ।

क्यान्सरका बिरामीको दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोल दिलावर फार्मेसीमा खुल्लेआम बिक्री वितरणको लागि राखिएको पाइएपछि सिलबन्दी गरिएको हो ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको छ । त्यही रोक्नको लागि डिडिएले ट्रामाडोल हस्पिटलभित्रको फार्मेसीले त्यो पनि प्रत्येक बिरामीको रेकर्ड राखेर मात्रै बिक्री वितरण गरिनुपर्ने नियम लागू गरेको छ ।

कमाउ धन्दामा लागेका औषधि व्यवसायीहरुले ट्रामाडोलको चरम दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरुलाई पनि वितरण गरेको पाइएपछि हस्पिटल भित्रका फार्मेसीबाहेक बाहिरका औषधि पसलले विक्री वितरण गर्न नपाइने नियम लागु भएको हो । तर, डिडिएको नियमलाई खुला रुपमा चुनौती दिदैं दिलावर फार्मेसीले कुनै पनि रेकट बेगार ‘ड्रामाडोल’ इन्जेक्सन खुला रुपमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरिएको हो । ‘अनुगमन गरेपछि ‘ड्रामाडोल’ इन्जेक्सन भेटिएपछि सिलबन्दी गरिएको हो । थप अनुसन्धानपछि औषधि ऐनअनुसार अब कारवाहीको प्रक्रिया अब अगाडि बढनेछ,’ उनले भने ।

दिलावरी फार्मेसीले केही महिना अगाडि मात्रै लग्दै नलगेको औषधि ‘प्रेस्क्रिप्सन’ मा देखाएर भारत ग्राम हरिपुर ६ का वर्ष ८० का एक बिरामीलाई ठगी गरेका थिए । दिलावर फार्मेसीले एक भाइलको १ हजार ६५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्क्रिप्सनमा नलेखिदिएपनि बिलमा चढाएर पैसा लिने गरेको प्रमाण भेटिएको थियो ।

उक्त फार्मेसीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्किृप्सनमा उल्लेख नभएको २० भाइल सिस्ट्रा इन्जेक्सन नगद बिलमा इन्ट्री गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको थियो । ठगी गरेको रकमपछि बिरामीलाई फिर्ता गरेपछि आउँदा दिनमा गल्ती नगर्ने भन्दै फार्मेसीले प्रतिवद्धता जाहेर गरेपछि कारवाहीबाट जोगिएको थियो । अहिले फेरि औषधिको अनुचित प्रयोगको लागि ‘ड्रामाडोल’ इन्जेक्सन राखिएको पाइएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ