विराटनगर—विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख रुपैयाँ बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका बिरामीहरुको आँखाका नसा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।
तीन महिना अघिदेखि मोतियाबिन्दु लागेका बिरामीको फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दै आएको कोशी अस्पतालमा अब आँखाको अल्ट्रासाउन्ड, प्रेसर नाप्ने, जलबिन्दुको नसा जाँच सुरु भएको हो ।
ओपीडी र ओटी कक्षहरुमा नेत्ररोग चिकित्सा उपकरण जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)को अनुदान सहयोग आएपछि कोशीबाट रेफर गरिनुपर्ने बिरामीको संख्यामा कमी आउने कोशी अस्पतालको आँखा रोग विभागकी प्रमुख नेत्र रोग विशेषज्ञ डा. आश्मा केसीले बताइन् । कोशी अस्पतालमा फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया भएपनि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका बिरामीहरुको आँखाका नसा जाँच हुने गरेको थिएन् ।
जीजीपीले अस्पताललाई ओपीडीमा प्रयोग हुने आँखाको प्रेसर नाप्ने उपकरण, आँखाको अटोमेटिक रुपमा चस्मा जाँच गर्ने, आँखाको भिडियो एक्स—रे गर्ने उपकरणहरु आएको हो ।
डा. आश्मा केसी
‘मोतियाविन्दु भएका बिरामीको आँखाभित्र लेन्स हाल्ने गरिन्छ । आँखामा नाप लिन भिडियो एक्स—रे गरिन्छ । आँखामा चोट भएको पनि हेर्न अल्ट्रा साउण्ड गरेर थाहा पाइन्छ,’ डा. केसीले भनिन्, ‘जलविन्दु लागेका बिरामीको आँखा जाँच पनि गरिन्छ । जसलाई मेडिकल भाषामा ‘पेरिम्याट्री’ भन्ने गरिन्छ । पेरिम्याट्रीले जलबिन्दु भएको छ भने जाँच गर्न मिल्छ । आँखाको दृष्टि जाँच गर्ने उपकरणहरु आएको हो ।’ आँखाको आधुनिक उपकरणहरु आएपछि उपचारमा सहज भएको उनले बताइन् ।
शुक्रबार कोशी अस्पताललाई जापान सरकारले अत्याधुनिक नेत्र रोग चिकित्सा उपकरण हस्तान्तरण गरेको हो । नेपालस्थित जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोको उपस्थितिमा सामान हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै टमुराले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरे । उनले यस परियोजनाले दृष्टिविहीन बिरामीको दैनिक जीवनमा आउने बाधा तथा मनोवैज्ञानिक चिन्ता तथा परिवारमा पर्ने आर्थिक बोझ कम गर्न सहयोग पुग्ने बताए । उनले अत्याधुनिक चिकित्सा उपकरण प्रयोग गरी आँखा रोगको समस्या समाधान गर्न अस्पतालले आफ्नो क्षमतामा उल्लेख्य सुधार गर्ने विश्वास पनि व्यक्त गरे ।

स्वास्थ्य उपकरण बुझदै कोशी अस्पतालका मेसु डा. रविराज सिंहले नेत्र रोग उपचारको लागि स्वास्थ्य उपकरणले बिरामीको स्वास्थ्य जाँचमा ठूलो सहयोग पुग्ने बताए ।
कोशी अस्पतालमा मोतियाविन्दुको फेको प्रविधिबाट शल्यक्रिया हुने गरेको छ । त्यसैगरी, हातबाट गरिने शल्यक्रिया, आँखामा मासु पलाएको पनि शल्यक्रिया हुने गरेको छ ।
कोशीमा आँखा विभागमा दैनिक ४० जनासम्म बिरामी ओपीडीमा आउने गरेका छन् । हप्ताको तीन दिन सोमबार, मंगलबार र बिहीबार आँखाको अप्रेसन हुने गरेको छ । दैनिक ३ देखि ४ वटा अप्रेसन हुने गरेको छ । आँखा विभागमा डा. केसीसहित, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे, डा. प्रवीणकुमार यादव, सुष्मा सुब्बा, डा. प्राची दुलाल र संजीवनी केसी रहेका छन् ।