२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा क्यान्सरको उपचार सेवा विस्तार

कोशी अस्पतालमा क्यान्सरको उपचार सेवा विस्तार

भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले आउने


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगका बिरामीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो ।

बिहीबार सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहबीच सेवा विस्तार सम्झौता—पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलीले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरंग, अन्तरंग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवाबारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेकाअनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने बताए । उनकाअनुसार क्यान्सरमा एकै विद्याका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकताअनुसार चिकित्सकहरु आउने बताएका छन् ।

अहिले भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर बिरामीलाई सेवा प्रदान गर्ने उनले बताए । ‘अहिले महिनामा एक पटक चिकित्सकको टोली आउने भनिएको छ । आवश्यकता पर्यो भने त्यहीअनुसार पनि आइन्छ,’ उनले भने, ‘अहिले सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आएको छ ।’ यहाँका चिकित्सकसँग गरेर विरामीको आवश्यकताअनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए ।

कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडी सेवा मात्रै सुरु भएको थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रवि कटेथले क्यान्सरका बिरामीलाई सेवा दिदैं आएका थिए ।

कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँच लाख रपैयाँको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए । उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ