२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल

अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल

परोपकार प्रसूति अस्पतालमा एक वर्षमा ३० हजार ९ सय महिलाको भर्ना गरेर उपचार


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विस्तारित अस्पताल सेवा (ईएचएस) कार्यक्रमलाई हटाएर दुई सिफ्टमा ओपीडी (बहिरंग) सेवा संचालन गर्ने तयारीमा रहेको बताएका छन् । सोमबार परोपकार प्रसूति गृह थापाथलीको ६५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अहिले अस्पतालहरुमा अतिरिक्त समयमा संचालन भइरहेको ईएचएस सेवा बन्द गरेर दुई चरणमा ओपीडी संचालन गर्ने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए ।

उनले दुई सिफ्टमा ओपीडी संचालन गर्न थप इन्सेन्टीभको व्यवस्थाका लागि मन्त्रालय स्रोत खोजिरहेको पनि बताए । ‘यही थापाथली अस्पतालमा थप दुई सिफ्टमा ओपीडी चलाएर राति ८ बजेसम्म सबै सेवा प्रदान गर्न विद्युत प्राधिकरणसँग आधा महसुल कटाउन सकिन्छ कि भन्ने प्रस्ताव गरिएको छ,’ उनले भने ‘त्यहाँबाट आधा मात्र शुल्कको स्वीकृत आयो भने त्यति नै मन्त्रालयले थपेर तपाईंहरुले थप समय काम गरेको प्रोत्साहन भत्ता दिन सकिन्छ कि भन्ने होमवर्क हुँदैछ ।’

मन्त्री पौडेलले चिकित्सक देशको अब्बल नागरिक रहेको भन्दै त्यो अब्बलता देशका लागि प्रयोग गर्नुपर्ने बताए । ‘हामीले के पाउँछौं भन्ने होइन्, के दिन सकिन्छ भन्ने कुरा तपाईहरुबाट मन्त्रालयले अपेक्षा राखेको छ,’ उनले भने, ‘दिएको कुरामा सन्तुष्टि हुन्छ ।’

एक अर्को प्रसंगमा मन्त्री पौडेलले नेपालमा चिकित्सक र नर्सिङ जनशक्ति कम भएको र भएका जनशक्ति पनि विदेशिने क्रम रहेको बताए । उनले तत्काल चिकित्सक र नर्स उत्पादन गर्न नसकिने, उत्पादन पनि कम भइरहेको, उपकरण र संरचना पनि कम भएतापनि समस्यासँग जुध्दै काम गर्नुपर्ने अवस्था रहेको बताए । जनशक्तिको कमीलाई पूर्ति गर्न ३०० बेड माथिका स्वास्थ्य संस्थामा पठनपाठनको कार्यक्रम अगाडि बढाउनका लागि निजी अस्पतालहरुसँग पनि सहकार्य गर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले अन्य सरकारी अस्पतालभन्दा थापाथलीको सेवा र व्यवस्थापन राम्रो भएको भन्दै अझ व्यवस्थित गर्नुपर्ने बताए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले थापाथली देशको स्वास्थ्यको ऐना भएको र यसले थापाथलीमा मात्र नभएर अन्यत्र पनि गुणस्तरीय सेवा प्रदान गर्न पहल गर्नुपर्ने बताए । उनले अहिले भइरहेको स्थानमा अब सेवा र क्षेत्र विस्तार गर्न सम्भव नभएका कारण अन्यत्र सेवा विस्तारमा जोड दिनुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्राले थापाथलीले परम्परालाई धानेको भन्दै सुरु भएका कुनै पनि कार्यक्रम बीचमा बन्द नभएको बताइन । प्रसुति गृहकी पूर्व निर्देशकसमेत रहेकी डा. मिश्राले महिला सम्बन्धी विशिष्टीकृत अस्पतालको साख जोगाएको बताइन् ।

प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालमा आएका कुनै पनि बिरामीलाई फर्किनु नपर्ने गरी सेवा प्रदान गरिएको बताए ।उनले एक वर्षमा ३० हजार ९ सय ५२ महिला बिरामी भर्ना भएर उपचार सेवा पाएको जानकारी दिए । जसमा २५ हजार १ सय १६ जना प्रसूति भएको र अन्य ५ हजार महिला सम्बन्धी अन्य सेवाका लागि भर्ना भएको बताए । त्यसैगरी, २ हजार ७ सय ८७ जना शिशुको उपचार भएको थियो । प्रसूति भएकामध्ये ९ हजार ६ सय ५२ जना शल्यक्रियामार्फत सुत्केरी भएका थिए ।

उनकाअनुसार निम्न सेवाहरु अस्पतालले दिइरहेको छ :
-आमा सुरक्षा कार्यक्रम तथा नवजात शिशु उपचार कार्यक्रम
-वृहत स्तनपान व्यवस्थापन केन्द्र (Human Milk Bank)
-बाझोपना उपचारको लागि आइ.यु.आई., आईभीएफ कार्यक्रम
-दुर्गम क्षेत्रका महिला गर्भवतीहरुको हवाई उद्दार गरी उपचार
-एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)
-निः शुल्क गर्भपतन
-पाठेघर उपचार
-परिवार नियोजन कार्यक्रमलगायत
-विस्तारित स्वास्थ्य सेवा (EHS)
-New Born Screening नवजात शिशुहरुको श्वास परिक्षण
-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेर विभिन्न विषयमा स्नातकोत्तर एम.डी./एम एस. को पढाइ र युरो (गाइनोकोलाजी, गाइनो -अंकोलाजी र इन्फर्टिलिटी विषयमा फेलोसिपको पढाइ संचालन
-२०७३ सालदेखि अस्पतालले आफ्नै परोपकार नर्सिङ क्याम्पससमेत संचालन
-२०७२ सालबाट लागु गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम
-यस अस्पतालमा सञ्चालन सेवा विस्तार तथा अध्ययन अनुसन्धान सम्बन्धि नवनिर्मित भवनबाट सेवा प्रारम्भ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ