२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा बेथिती: पुराना डाक्टर हटाएर बिना प्रतिस्पर्धा ९ जना चिकित्सक नियुक्त

कोशी अस्पतालमा बेथिती: पुराना डाक्टर हटाएर बिना प्रतिस्पर्धा ९ जना चिकित्सक नियुक्त


विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा अस्पताल विकास समितिले चार वर्ष काम गरेका चिकित्सकलाई हटाएर बिना प्रतिस्पर्धा ९ जना चिकित्सक नियुक्ति गरेको पाइएको छ । परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफू खुसी ९ जना चिकित्सक नियुक्त गरेको हो ।

२ भदौंमा अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत नियुक्त गरेको हो । नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, छाला रोग विशेषज्ञ डा. ज्योती कार्की, मनोचिकित्सक डा.सविता खड्का, पेटरोग विशेषज्ञ डा. रोहित यादव, एनेस्थेसिया डा. प्रविन झा र डा. राजन राई छन् । यसैगरी, मेडिकल अधिकृतहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा. मनोज मनिष साह र आईसीयुका लागि डा.विशका गुरुङलाई नियुक्त गरेको छ ।

उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ । अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ । डा. रौनक, डा. ज्योति र डा. रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको छ ।

अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा बिना प्रतिस्पर्धा नियुक्ति पाएका हुन् । बिना प्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप लगाएका छन् ।

यसअघि अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवाल, र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको पालामा पनि तीन जना मेडिकल अधिकृत नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएको थियो । त्यसबेला पनि निकटलाई नियुक्त गर्ने प्रयास भएको थियो । त्यसबारे समाचार सार्वजनिक भएपछि अस्पतालले विज्ञापन नै स्थगित गरेको थियो ।

कर्मचारी युनियनले पनि त्यसबेला अस्पतालले चलखेल गरी चिकित्सक नियुक्ति प्रक्रिया नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । अस्पताल प्रशासनले निकालेको विज्ञापनको चौतर्फी रुपमा आलोचना भएपछि बाध्य भएर तत्कालीन मेसु झा र अस्पताल विकास समिति अध्यक्ष सिलवालले बैठक बसेर ११ फागुनको लागि लिने भनेको अन्तर्वार्ता स्थगित गरेका थिए । त्यसबेला अन्तर्वार्तासम्म लिने तयारी गरिएको थियो । तर, अहिले ९ जना चिकित्सक नियुक्त गर्दा ठाडो नियुक्ति दिइएको छ ।

विज्ञापन आव्हान नगरी सुटुक्क नियुक्त गरिनुले मिलेमतो र लेनदेन स्पष्ट हुने अस्पतालका एक जना चिकित्सकले दावी गरेका छन् । ‘योभन्दा ठूलो बद्मासी अर्को हुनै सक्दैन्,’ ती चिकित्सकले भने, ‘त्यसमा आर्थिक लेनदेन लिएर नियुक्त गरिएको हुन सक्छ । यसमा छानविन हुनुपर्दछ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रविराज सिंहले अस्पताल विकास समितिले निर्णय गरेर पुरानो अस्पतालमै काम गर्दै आएका चिकित्सकलाई नियुक्त गरेको बताए । ‘विकास समितिले नियुक्त गर्ने निर्णय गरेपछि एक महिनाको लागि करारमा राखिएको हो,’ उनले भने,
‘अहिले नियुक्त भएका धेरै अस्पतालमा काम गर्दै आएका विकास समितिको नियमावलीअनुसार नियुक्त गरिएको हो ।’

अस्पताल विकास समितिका अध्यक्ष फरवार्ड सिलवालले विगत लामो समयदेखि काम गरिरहेका र ज्यालादारीमा काम गरेकोलाई नियुक्त गरिएको बताए । ‘ज्यालादारीमा काम गरेर अप्ठ्यारोमा परेकालाई सहजीकरण गरिएको हो,’ उनले भने, ‘बाहिरको नयाँ नियुक्त गरेको छैन ।’

मेसु डा. सिंह र अध्यक्ष सिलवालले नयाँ नियुक्त नगरेको दाबी गरेपनि डा. विशका र डा. सविता नयाँ हुन् । चार वर्ष अअिदेखि काम गर्दै आएका मनोरोग विशेषज्ञ डा. प्रभात चालिसेको नियुक्त नगरेर अस्पताल विकास समितिले करारमा कांग्रेस नेताको दबाबमा डा. सवितालाई नियुक्त गरिएको बुझिएको छ । नेपाल सरकारको रिक्त दरबन्दीमा विगत चार वर्षदेखि कोशीमा डा. चालिसेले काम गर्दै आएका थिए ।

सरकारी दरबन्दीमा स्वास्थ्य मन्त्रालयले अर्को स्थायी चिकित्सक पठाएपछि उनको करार अवधि सकिएको थियो । चार वर्षदेखि अस्पतालमा सेवा प्रवाह गरेको कारणले अन्य पुराना चिकित्कसलाई राख्दा उनलाई पनि अस्पताल विकास समितिले नियुक्ति गर्ने सोचेका थिए । तर, उनको ठाउँमा अस्पताल विकास समितिबाट निर्णय गरेर डा. सवितालाई नियुक्त गरेको पाइएको छ ।

आवश्यक नभएको विभागमा जनशक्ति थप्दै

अस्पतालमा आवश्यक नभएको विभागमा पनि चिकित्सक नियुक्त गरेको पाइएको छ । कोशीमा एक दर्जन बढी विभागहरु रहेका छन् । तर, चिकित्सक चाहिएका विभागमा नियुक्त नगरेर धेरै चिकित्सक भएको विभागमा मेडिकल अधिकृत नियुक्त गरेको पाइएको छ ।

कोशीको डेन्टल विभागमा नेपाल सरकारको दरबन्दी, विकास समिति र छात्रवृत्ति करारका गरी ९ जना चिकित्सक कार्यरत छन् । डेन्टलको ओपीडीमा दैनिक ७० देखि ९० जना बिरामी आउने गर्दछन् । ९ जना चिकित्सकको भागमा दैनिक बढीमा १० जना विरामी सरदर हेर्दै आएका छन् । सोही विभागमा एक जना मेडिकल अधिकृत नियुक्त गरिएको छ ।

‘यसअघि नै चिकित्सकलाई बस्ने कुर्सी नभएको विभागमा फेरि चिकित्सक नियुक्त गरेर कोशीमा छुट्टै डेन्टल अस्पताल चलाउन लागे जस्तो छ’, एक चिकित्सकले भने, ‘अस्पतालमा न्यूरो सर्जरी विभाग र एनआईसीयु सञ्चालन गर्न चिकित्सक आवश्यक भएपनि त्यहाँ नियुक्त भएन ।’

थप जनशक्ति नभएको भन्दै कोशीको आईसीयुको बेड संख्या खुम्चिएको छ । यसअघि २४ शैय्यासम्मको आईसीयु रहेको कोशीमा अहिले १२ बेडमा आएर खुम्चिएको छ । ‘बेडको संख्या बढाउन बरु थप जनशक्ति आईसीयुमा राखिनुपर्ने थियो । आईसीयूका लागि थप संख्या नगरेर बढी चिकित्सक भएको ठाउँमा राखिएको छ । यो भनेको अस्पतालको व्यभार बढाउने मेलो मात्र भयो,’ अस्पतालका एक जना कर्मचारीले भने । अहिले नियुक्त भएका आठौं तहका चिकित्सकहरु हुन् । आठौं तहको सुरु तलब स्केल ४८ हजार ७३७ रुपैयाँ रहेको छ । ग्रेड दर १ हजार ६२५ रुपैयाँ जोडेर जम्मा मासिक तलक एक जनाको ५५ हजार २३७ रुपैयाँ हुन आउने गरेको छ ।

जनशक्ति नहुँदा न्युरोमा समस्या

कोशी अस्पतालको न्यूरो सर्जरी सेवा सुरु भएको दुई वर्ष हुन लागेको छ । दुई वर्ष हुन लाग्दा पनि एक जना न्यूरो सर्जनले अस्पतालको न्यूरो विभाग थेगिरहेका छन् । न्यूरो सर्जरी विभागको लागि एक जना मेडिकल अधिकृत राख्नुपर्ने माग भएपनि सुनुवाई भएको छैन ।

न्यूरो सर्जरी विभागमा दैनिक ३० देखि ४० जना ओपीडीमा बिरामी आउने गरेका छन् । हप्ताको प्रत्येक मंगलबार शल्यक्रिया हुने गरेको छ । शल्यक्रियापछि बिरामीलाई न्यूरो आईसीयुमा राख्नुपर्ने हुन्छ । तर, कोशीमा छुट्टै न्युरो आईसीयु छैन । न्यूरो आईसीयु छुट्टै राख्नुपर्ने अस्पतालका चिकित्सकले माग गर्दै आएका छन् । तर, अहिलेसम्म कुनै सुनवाई भएको छैन । शल्यक्रिया गरिएको बिरामीलाई अहिले जनरल आईसीयुमा राखेर उपचार गरिदैं आइएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ