२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजनमा पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने

समायोजनमा पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने

ऐन आएको पाँच वर्षमा स्वास्थ्य मन्त्रालयद्वारा पहिलो पटक संघ प्रदेश र स्थानीय तह समितिको बैठक


काठमाडौं—स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । बिहीबार संघ, प्रदेश तथा स्थानीय तह ऐन, २०७७ अन्तर्गत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेपछि सार्वजनिक गरेको प्राथमिकता तथा कार्ययोजनामा समितिको बैठक तत्काल राखेर तहगत समस्याको पहिचान र आगामी योजना बनाउने घोषणा गरेका थिए । घोषणाअनुसार मन्त्री पौडेलले
ऐन आएयता पूर्णतासमेत नपाएको समितिको पहिलो पटक मन्त्रालयमा बैठक गरेका हुन् ।

जसमा प्रदेश तथा स्थानीय तहका प्रतिनिधीहरुले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको स्वास्थ्य सुधारका कार्यक्रममा आफूहरुको समेत सहकार्य रहने प्रतिबद्धता जनाए ।

बैठकले स्वास्थ्यकर्मी अभावलाई सम्बोधन गर्न समायोजन पुल दरबन्दीमा रहेका स्वस्थ स्वास्थ्यकर्मीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने निर्णय गरेको छ । यसैगरी, स्थानीय तहमा समायोजन भएका एमडी तथा एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई प्रदेशभित्र आवश्यक परेको ठाउँमा खटाउन प्रदेश सरकारलाई अधिकार दिनेसमेत निर्णय गरेको छ ।

बैठकबाट गरिएको १३ बुँदे निर्णयमा दरबन्दी रिक्त रहेका गाउँपालिकाका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गर्न मन्त्रालयले समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

यसैगरी, स्थानीय तहका आधारभूत स्वास्थ्य सेवा केन्द्र र ५, १० तथा १५ शैय्याका अस्पतालको व्यवस्थापन सर्वेक्षण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकले हैजा, डेंगी तथा झाडापखाला लगायतका संक्रामक रोगको महामारी तथा अरु स्वास्थ्य जोखिमसँग जुध्न संघदेखि वडासम्मै द्रुत प्रतिकार्य टोली सक्रिय राख्ने निर्णय गरेको छ ।

कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

समायोजन भएर पत्राचार हुन बाँकीका हकमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गर्ने निर्णय गरेको छ । स्थानीय तहमा दरबन्दी भएर अन्यत्र हाजिर कर्मचारीका लागि दरबन्दी भएकै ठाउँमा पठाउने र पद रिक्त नभएका हकमा प्रदेशभित्रका स्थानीय तहमा दरबन्दी मिलान गर्न प्रदेशलाई अधिकार दिने समेत बैठकले निर्णय गरेको छ ।

अब स्थानीय तहका आधारभूत अस्पतालको नामकरण गाउँपालिकाको नाम, आधारभूत अस्पताल स्थान र जिल्ला रहने गरी तय हुने भएका छन् ।

कहिले पद जान्छ नसोचेर काम गरौंः मन्त्री पौडेल

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहले आ आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्थामा ऐन आएर पनि कार्यान्वयन जान नसकेको समितिलाई गतिशील बनाउन प्रयास गरेको बताए । उनले बजेट र कार्यक्रम बनाउँदा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न तयार रहेको भन्दै काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरुसँग आग्रह गरे ।

‘हामी सबैभन्दा बढी प्रस्ताव क्याबिनेटमा लैजाने मन्त्रालयका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विकास गर्न चाहन्छौं,’ उनले भने, ‘सहकार्यका सकेसम्म धेरै प्रस्ताव ल्याउन प्रदेश तथा स्थानीय तहसँग आग्रह गर्छु ।’

मन्त्री पौडेलले जिम्मेवारीमा नरहेका चिकित्सकलाई काममा लगाउन नसक्नु कमजोरी रहेको भन्दै संघको रकममा योगदान गरेर इन्सेन्टिभ दिएर भए पनि हरेक अस्पतालमा चिकित्सक रहने वातावरण मिलाउन सहकार्यको प्रस्ताव गरे । ‘लाखौं खर्च गरेका चिकित्सकले न्यून तलबका कारण सेवा तोकिएको ठाउँमा नगएको पाइएको छ,’ उनले भने, ‘यस्तोमा प्रदेश र स्थानीय तहबाट पनि योगदान गरेर चिकित्सक गाउँमा बस्ने वातावरण मिलाऔं । ’

मन्त्री पौडेलले आफू आएयता लोक सेवा आयोगबाट दरबन्दी तोकिएका सबै चिकित्सक आफ्नो ठाउँमा गएको र यो पहिलो रेकर्ड भएको बताए । उनले आफ्नै मानिसबाट चिकित्सक सरुवाका लागि अनुरोध आउने भन्दै प्रदेशका मन्त्रीहरुलाई भने, ‘हामीले तोकिएको ठाउँमा खटाइएका चिकित्सकलाई ठाउँमै काम गर्न दिऔं । यहाँहरुले सरुवाका लागि अनुरोध गर्नुहुन्न भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम नपाइएको गुनासो सम्बोधन गर्न सरकारले क्रमैसँग रकम निकासा गर्ने प्रक्रिया थालेको जानकारी दिंदै साढे ३ अर्ब निकासा भएको र बाँकी रकम पनि क्रमैसँग किस्तामा जाने बताए ।

बैठकमा बोल्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुध्नप्रसाद सिंहले संघीयताको मर्मअनुरुप पहिलो पटक बैठक बसेको भन्दै यसलाई ऐतिहासिक भएको बताए । उनले जनशक्ति व्यवस्थापनको विषय चुनौतीपूर्ण भन्दै यसमा संघसँग मिलेर काम गर्ने बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले अनुभव आदान—प्रदान गर्ने अवसर दिएकोमा मन्त्री पौडेललाई धन्यवाद दिंदै प्रदेश सरकारले गर्ने अस्पताल स्तरोन्नतिमासमेत संघबाट साथ अपेक्षा गरेको बताए ।

लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले सहकार्यको सुरुवात राम्रो भएको भन्दै आफूहरुले स्थानीय तहको चिकित्स्क व्यवस्थापन प्रभावकारी बनाउन साथ दिने बताए ।

बैठकमा कोशीबाहेक सबै प्रदेशका स्वास्थ्य मन्त्रालय हेर्ने मन्त्रीहरु, गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुसँगै स्वास्थ्य सचिवहरु तथा मन्त्रालयका विभाग र महाशाखाका प्रमुख सहभागी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ