काठमाडौं—जनता समाजवादी पार्टी नेपालले आर्थिक रुपले उपचार गराउन असमर्थको सम्पूर्ण उपचारको व्यवस्था सरकारले गर्नुपर्ने निर्णय गरेको छ । पूर्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको उपेन्द्र यादवले नेतृत्वको जसपा नेपालको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
‘आर्थिक अभावले उपचार गराउन असमर्थ अति विपन्न विपन्न वर्ग, असक्षम गरिब र असहायहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण व्यवस्था सरकारले नै गर्ने गरी व्यवस्था मिलाउनु पर्दछ,’ जसपाको ६७ बुँदे निर्णयमा छ ।
स्वास्थ्य सम्बन्धि ४ बुँदे निर्णय गरेको जसपाले प्रदेशमा कम्तिमा एक अति विशिष्ट अस्पताल स्थापना गर्नुपर्ने निर्णय पारित गरेको छ । ‘प्रत्येक प्रदेशका सरकारले कम्तिमा एउटा अति विशिष्ट अस्पताल, एउटा स्वास्थ्य विज्ञान र एउटा वैकल्पिक चिकित्सा अध्ययन एवं उपचार केन्द्र स्थापना गरी संचालन गर्ने,’ जसपाको निर्णयमा छ ।
यसैगरी, जसपाले संविधानको धारा ३५ (१) अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रावधानअनुसार सबै सरकारी अस्पतालबाट पर्याप्त औषधिको व्यवस्था गर्न र सरकारले स्वास्थ्य सेवाका लागि अति विशिष्ट अस्पताल, प्रादेशिक अस्पताल, पालिकास्तरका अस्पताललाई आवश्यक पर्ने औषधी, उपकरण, प्रयोगशाला, जनशक्ति र तालिम उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।