२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यक्रममा स्वास्थ्यमन्त्री बोलिरहँदा अस्पताल सुधारको माग गर्दै स्थानीयको नाराबाजी

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यक्रममा स्वास्थ्यमन्त्री बोलिरहँदा अस्पताल सुधारको माग गर्दै स्थानीयको नाराबाजी

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा


काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी कार्यक्रममै स्थानीयले अस्पतालको बेथिती अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन् । मंगलबार विश्व अंगदान दिवसको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा अतिथीका रुपमा पुगेका स्वास्थ्यमन्त्री पौडेलकै अगाडि प्रदर्शन भएपनि उनले छुट्टै कुरा गर्ने भनेर स्थानीयलाई थम्थमाएका थिए ।

स्थानीयहरुले कलेजो, नसा, मुटुको उपचार खै ? भ्रष्टाचार मुक्त अस्पताल बनाऔं, गैर कानुनी रुपमा निकालिएका चिकित्सकहरुलाई पुर्नबहाली गरलगायतका नाराहरु लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

केन्द्रको भुँइतलाको ओपीडी अगाडि आयोजना गरेको सभास्थलमै पुगेर नाराबाजी गर्न थालेपछि मन्त्री पौडेल नै अगाडि बढेर आफूले छुट्टै कुरा गर्ने र स्थानीयका समस्या समाधान गर्ने बताएका थिए । त्यसपछि स्थानीयहरु केही समय शान्त बनेका थिए । कार्यक्रम सकिएपछि मन्त्री पौडेलले केन्द्रमा देखिएका समस्या समाधान गर्न आफू लाग्ने आश्वासन दिएका छन् ।

स्थानीयले ६ बुँदे मागसहित ब्यानर पनि कार्यक्रमस्थलमै टाँसेका थिए । जसमा भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई कारवाही गर्नुपर्ने, गैरकानुनी रुपले बर्खास्त चिकित्सकलाई अबिलम्ब पुनःबहाली गर्न, मुटु, कलेजो, फोक्सो र नसा रोगको सेवा तुरुन्त सुचारु गरेर व्यवस्थित गर्न, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा सुनिश्चित गर्न, अस्पतालभित्रका सामाजिक उत्पीडन अन्त्य गर्न र कर्मचारीको रोकिएको तलब तुरुन्त भुक्तानी गर्न माग गरिएको छ ।

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने

मन्त्री पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।

‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’

केन्द्रले मात्र देशैभर सेवा दिन नसक्ने बताउँदैं उनले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेको बताए । उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।

सिमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन,’ मन्त्री पौडेलले भने, ‘यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं ।’

उनले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए । मन्त्री पौडेलले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अंगदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अंगदान गर्ने घोषणा गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ