२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबर्दियामा सर्पदंशबाट एकैदिन २ बालिकाको मृत्यु

बर्दियामा सर्पदंशबाट एकैदिन २ बालिकाको मृत्यु

सिकिस्त अर्की बालिकाको भेरी अस्पतालको आईसीयुमा उपचार हुँदैं


नेपालगन्ज—बर्दियाको जिल्ला सदरमुकाम गुलरियाका दुई जना बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ की १५ वर्षीया माया चौधरी र ११ वर्षीया स्वर्णिमा चौधरी रहेका छन् ।

ती दुबै बालिकालाई राति सुतेको बेला करेत सर्पले टोकेको हुन सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । एक जना बालिकालाई रातिको २ बजे र अर्की बालिकालाई बिहान साढे ८ बजे आफन्तहरुले अस्पतालमा पुर्‍याएका थिए ।

जिल्ला अस्पताल बर्दियाका अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेका अनुसार सर्पले टोकेर सिकिस्त अवस्थामा अस्पताल ल्याउँदै गरेका दुईजना बालिकाको बाटोमा नै मृत्यु भएको थियो । ‘करेत सर्पले राति सुतेको बेला ओच्छ्यानमै गएर टोक्ने गर्छ । सर्पले टोकेको पनि थाहा हुँदैन् । बिष पनि विस्तारै चढ्छ । बैशाखदेखि भदौंसम्म बिहान बच्चाले पेट दुख्यो भन्नासाथ सर्पले त टोकेको हो कि भनेर शंका गर्नुपर्ने हुन्छ । सर्पले टोकेको रहेछ भने त्यसपछि श्वास फेर्ने गाह्रो हुन्छ,’ भेरी अस्पताल नेपालगन्जका सर्पदंश विशेषज्ञ डा. पारस पान्डेले भने । उनकाअनुसार यस्तै लक्षणका आधारमा उपचार सुरु गर्नुपर्ने हुन्छ ।

सर्पले टोकेर सिकिस्त अवस्थामा जिल्ला अस्पताल गुलरिया पुर्‍याइएकी मधुबन नगरपालिका २ की ७ वर्षीया अर्की बालिका रियालाई थप उपचारका लागि जिल्ला अस्पताल बर्दियाले नेपालगन्जको भेरी अस्पतालमा रिफर गरेको छ । बर्दियाबाट रिफर भएर भेरी अस्पतालमा ल्याइएकी रियाको भेरी अस्पतालको आईसीयु वार्डमा भर्ना गरेर उपचार भइरहेको बिरामीका दाजु शरण चौधरीले बताए ।

‘बिहान एक्कासी पेट दुख्यो भन्ने पनि गाउँकै मेडिकलमा चेकजाँच गराएर औषधी लिएर खुवाएपनि ठिक भएन्,’ उनले भने, ‘बहिनीले मुखबाट फिज निकाल्न थालेपछि जिल्ला अस्पताल पुर्‍यायौ । बच्चालाई श्वास फेर्न गाह्रो भइरहेको थियो ।’

चौधरीले अस्पताल पुग्दा बिहानै सर्पले टोकेर गुलरियाकै दुई जना बच्चाको मृत्यु भएको आफूहरुले थाहा पाएको बताए । ‘अस्पतालमा आफन्तहरुको रुवाबासी थियो । हामीले पनि निक्कै डराएका थियौं । तर, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले सर्पले टोकेको आशंका गरेर बहिनीको श्वास नलीमा पाइप छिराएर श्वास फेर्न सहज हुने गरी (इन्टुबेसन) गरी भेरी अस्पतालमा रिफर गरिदिनुभयो । हामीले तुरुन्तै भेरी अस्पताल नेपालगन्ज पुर्‍यायौं,’ उनले थपे ।

भेरी अस्पतालका चिकित्सकहरुले सुरुमा इमरजेन्सी वाड र पछि आइसियुमा भर्ना गरेर उपचार सुरु गरे पछि बहिनी बाच्चिन की भन्ने आशा बढेको शरणले बताए ।

बर्दिया अस्पतालका अनुसार चालु आर्थिक २०८१/०८२ मा बर्दिया अस्पतालमा ४२ जना सर्पले टोकेको बिरामी आएका थिए । जसमध्ये ३ जनालाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ बर्दिया अस्पतालमा ८७ जना सर्पले टोकेको बिरामी आएको थिए । जसमध्ये ४७ विषालु सर्पले टोकेकामध्येमा १७ जनालाई भेरी अस्पतालमा नेपालगन्जमा रिफर गरिएको अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी न्यौपानेले बताए ।

बर्दियामा जिल्ला अस्पताल गुलरिया, ठाकुरबाबा नगरपालिकाको नगर अस्पताल र बारबर्दिया नगर अस्पताल र भुरीगाउँको आम्बासामा नेपाली सेनाको दंश उपचार केन्द्रमा सर्पदंशका बिरामीहरुको उपचार हुने गरेको छ । वर्षाको सुरुवात भएसँगै सर्पको जमिनमुनीको वासस्थानमा पानी पस्न थालेपछि सर्पहरू जमिन बाहिर निस्केर ओभानो ठाउँ खोजी गर्दै घरभित्र ओछ्यानलगायत घरको कुना अध्यारो ठाउँमा लुकेर बस्ने र मानिसहरुलाई टोक्ने क्रम बढेको छ ।

सर्पदंशको जोखिमबाट बच्न राति सुत्ने बेला ओछ्यानमा रहेका कपडा टक्ककाउन, जुत्ता लगाउनु अघि जुत्ताभित्र केही छ कि भनी हेर्न, घर वरिपरि झाडी सफा गर्न, सर्पले टोकेको शङ्का लाग्नासाथ तत्काल नजिकको अस्पतालमा पुर्‍याउनुपर्ने सुझाव चिकित्सकहरुको छ ।

२०८१ बैशाखदेखि साउनसम्म सर्पको टोकाइबाट बर्दियाबाट रिफर नेपालगञ्जमा पुर्‍याइएका ३ जनाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्ला अस्पताल बर्दियाले कोभिड—१९ को सङ्क्रमण बढेपछि स्थानीय निकाय सहयोग र अस्पतालको आफ्नो लगानीमा आईसीयु सेवा सञ्चालनको तयारी गरेपनि जनशक्ति अभाव भएका कारण अझै आईसीयु संचालन हुन सकेको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ