२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघीय अस्पताल पूर्ण क्षमतामा संचालन र अधिकृत तहसम्मका स्वास्थ्यकर्मीलाई संघबाट परिचालन गर्न एमालेको माग

संघीय अस्पताल पूर्ण क्षमतामा संचालन र अधिकृत तहसम्मका स्वास्थ्यकर्मीलाई संघबाट परिचालन गर्न एमालेको माग

एमालेले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई १३ बुँदे ध्यानाकर्षणपत्र


काठमाडौं—सत्तारुढ घटक नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले मन्त्री पौडेललाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

एमालेले संसदमा दर्ता भएको संघीय निजामती ऐनमै स्वास्थ्य सेवाका कर्मचारीको सेवा प्रवेश ४५ वर्ष, सेवा निवृत्त अवधि ६३ वर्ष, स्वास्थ्य सेवाका कर्मचारीलाई मुख्यसचिवसम्म हुन पाउने गरी अधिकृतमाथिका कर्मचारीलाई १० वर्षसम्म संघबाट परिचालन गर्ने व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा माग गरेको छ ।

यसैगरी, स्वास्थ्य सेवामा बाँझिएका कानुन तत्काल संशोधनको व्यवस्था गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन दर्ता प्रक्रिया व्यवस्थित गर्न, नसर्ने रोगलाई लक्षित गर्दै ७५३ पालिकामा स्वास्थ्य प्रवर्द्धन अस्पतालको विकास र विस्तार गर्न, आधारभूत अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न गरेर संगठन सर्वेक्षण गरी पदपूर्ति गर्न, शल्यक्रिया र डाइलाइसिसजस्ता सेवा सहज बनाउन, रोकथाम तथा नियन्त्रण केन्द्र र प्रत्यायन प्राधिकरणजस्ता संरचना निर्माण गर्न पनि मन्त्री पौडेलको ध्यानाकर्षण गराइएको छ ।

एमालेले स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन पारित गराउन, सबै प्रदेशमा बनाउने भनिएका प्रतिष्ठान काम सुरु गर्न पहल गर्नसमेत मन्त्री पौडेललाई सुझाएको छ । समायोजनका कारण फाजिलमा रहेका, समायोजन नमिलेका स्वास्थ्यकर्मीलाई रिक्त स्थानमा पुनः समायोजन गरी काम गर्ने वातावरण बनाउन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालाई भरपर्दो बनाउनका लागि कानुन कडाइका साथ कार्यन्वयन गर्न पनि एमालेको माग छ ।

यस्तै, एमालेले हैजा, दादुरा, कोभिड—१९, डेंगीलगायतका महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण र बाढी पहिरो. लगायतका जलउत्पन्न विपत्तिको व्यवस्थापनमा सक्रियता बढाउन, वीर अस्पताललगायतका सबै संघीय अस्पतालमा जनशक्ति थप गरी पूर्ण क्षमतामा संचालन गर्न, छिटो र सहज सेवा पाउने व्यवस्था गर्न समेत मन्त्री पौडेललाई आग्रह गरेको छ ।

मन्त्री पौडेललाई ध्यानाकर्षणपत्र बुझाउन गएको एमालेको टोलीका एक सदस्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सचिव सिद्धप्रसाद ढुंगानाले अहिलेको गठबन्धन सरकार भएकाले गठबन्धनको मर्मअनुसार आफूले काम गर्ने प्रतिवद्धता मन्त्रीले व्यक्त गरेका थिए । ‘अहिले हामी गठबन्धन सरकारमा छौं । म तपाईहरुको ध्यानाकर्षणपत्रमा रहेका विषयवस्तुप्रति सकारात्मक छु । कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ मन्त्री पौडेलको भनाइ उदृत गर्दै ढुंगानाले भने ।

ध्यानाकर्षण बुझाउन श्रेष्ठ नेतृत्वमा गएको टोलीमा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका सचिव महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक शर्मा गौतमलगायतका रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ