२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा 

निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा 

बिरामीको अवस्था हेरेर अस्पतालले दिन्छन् चालकलाई कमिसन, आईसीयुमा राख्नुपर्ने बिरामी ल्याए पाउँछन् २० हजारसम्म कमिसन


– श्री हस्पिटलले भनेको रकम नदिँदा बिरामी बन्धक

विराटनगर—मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु पेट दुखेपछि २८ असारमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि आएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनी सस्तोमा सरकारी अस्पतालमा उपचार गराउन कोशीमा आएका थिए ।

कोशीमा आएका उनलाई चिकित्सकले भिडियो एक्स–रे गर्न सुझाव दिए । एक्स–रे गर्दा उनको पेटमा समस्या देखियो । त्यसपछि चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताए । तर, कोशीमा आईसीयु खाली थिएन । चिकित्सकले निजी हस्पिटल जान भनेपछि उनलाई आफन्तले विराट टिचिङ हस्पिटल लैजाने सल्लाह गरे । विराट जाने सल्लाहअनुसार एम्बुलेन्स लिन कोशीको गेटमा गएका थिए ।

एम्बुलेन्सका चालक रहेकामध्ये एक जनालाई सोधे, ‘विराट मेडिकल कलेज थप उपचारको लागि जानु छ, कति हो भाडा ?’ चालकले भने, ‘किन विराटमा जानुहुन्छ । सस्तो र राम्रो उपचार श्री हस्पिटलमा हुन्छ ।’ त्यसपछि उनीहरु श्री अस्पताल पुगेर उपचार सुरु भयो ।

आन्द्रामा समस्या देखिएपछि श्री हस्पिटलका सर्जन डा.अरविन्द यादवले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । आर्थिक अवस्था नाजुक रहेका टुडुको परिवारले उपचार खर्चबारे सोधीखोजी गरेको थियो । ‘अहिले उपचार गर्दै गर्नु पछि मिलाएर गरौला’ भन्ने अस्पताल प्रशासनको कुरापछि छोराको उपचार सुरु गरेको बाबु सर्दु टुडुले बताए ।

बिरामीका बावु सर्दु टुढु छोराको उपचारका बारेमा गुनासो सुनाउँदै ।

१ साउनमा रञ्जितको पेटको शल्यक्रिया भएकोमा पाँच दिनपछि रञ्जितको उपचार खर्चको बिल हस्पिटलले थमायो । अस्पतालले ३ लाख २० हजारको रुपैयाँको बिल बनाएकोमा टुडु परिवारले १ लाख ४५ हजार रुपैयाँ बुझाएपनि थप रकम दिन सकेन् । बनिबुतो गरेर गुजारा चलाउने सुकुम्वासी टुडु परिवारले पालेको चौपाया बिक्री र ऋण खोजेर १ लाख ४५ हजार रुपैयाँ बुझाएका हुन् ।

श्री हस्पिटलले उपचार सकिएको भन्दै १ लाख ५० हजार रुपैयाँ र फार्मेसीले ५० हजार गरी थप २ लाख रुपैयाँ माग्दै आएको थियो । तर, उनीहरुसँग तिर्ने पैसा थिएन । ‘सस्तोमा उपचार हुन्छ भनेर आएको एम्बुलेन्स चालकले फसायो । यत्रो पैसा कहाँबाट तिर्नु’ भन्दै टुडु हारगुहार गर्दै आफ्नो निर्वाचन क्षेत्रका सांसददेखि प्रमुख जिल्ला अधिकारीसम्म धाइरहेका छन् ।

छोराको उपचार खर्च मिनाहा गरिदिन आग्रह गर्दै उनले हारगुहार गरेपछि १० साउनमा नै हस्पिटलले पैसा बुझाएर टुडुलाई घर लैजान भनेको थियो । तर, पैसा बुझाउन नसक्दा रञ्जितलाई घर जान दिएको थिएन । कतैबाट पार नलागेपछि टुडु परिवारले श्री हस्पिटलले छोरा बन्धक बनाएको भन्दै बुधबार दिउँसो नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि हस्पिटलले २ लाख रुपैयाँ छुट गरिदियो ।

एम्बुलेन्स चालकले कमिसनको लोपमा परेर श्री हस्पिटल पु¥याएका बिरामी रन्जित टुढुसहित उनका परिवार ।

पत्रकार सम्मेलनको तयारीमा टुडुको परिवार संचारकर्मीलाई आफ्नो गुनासो सुनाउँदैं गर्दा अस्पतालबाट त्यही बेला फोन आएको थियो । ‘पत्रकार सम्मेलन नगर्नु बाँकी पैसा तिर्न पर्दैन् । बिरामी लैजानु’ भन्दै अस्पताल प्रशासनले फोनमा भनेपछि रञ्जितका बाबु सर्दु छक्क परेका थिए । ‘छोरालाई घर जान दिने भएपछि अब पत्रकार सम्मेलन नगरौं होला हैन सर ?,’ उनले हेल्थआवाजकर्मीसँग भने । पत्रकार सम्मेलनमार्फत खोजेको न्याय पाएपछि पत्रकार सम्मेलन नगरी उनी फर्किए ।

बिरामीलाई कमिसन पाउने लोभमा एम्बुलेन्स चालकले चर्को शुल्क लिने हस्पिटलमा पु¥याएको यो एउटा उदाहरण मात्रै हो । एम्बुलेन्स चालकलाई पनि कमिसन दिनुपर्ने भएकैले श्रीले बिरामीसँग चर्को शुल्क असुल्ने प्रयास गरेको थियो । तर, पत्रकार सम्मेलन भएर आफ्नो कर्तुत सार्वजनिक हुने भएपछि अस्पताल २ लाख रुपैयाँ छुट दिएर ब्याक भयो ।

विराटनगरको श्री हस्पिटल मात्र हैन, गोल्डेन अस्पताल, ग्रीनक्रस हस्पिटल, सञ्जीवनी हस्पिटल, लाइफगार्ड अस्पताललगायतले एम्बुलेन्स चालकलाई आफ्नो हस्पिटलमा बिरामी ल्याएबापत निश्चित रकम दिने गरेको एम्बुलेन्स चालकहरु नै बताउँछन् । ‘एम्बुलेन्स चलाएर पाउने रकमले त परिवारको गुजारा नै चल्दैन्,’ एक चालकले भने, ‘जुन अस्पतालमा गएपनि बिरामीको उपचार गराउने हो । हामीलाई पनि २÷४ हजार रुपैयाँ दिन्छन् । त्यही भएर लैजान्छौं ।’

बिरामीले आफैं कुनै अस्पतालमा जान चाहेको अवस्थामा भने त्यही अस्पतालमा बिरामी लैजाने ती चालकको दावी छ । स्रोतले दिएको जानकारीअनुसार श्रीसहितका हस्पिटलले आईसीयुमा जाने बिरामी एम्बुलेन्स चालकले ल्याएमा २० हजार रुपैयाँसम्म कमिसन दिने गरेका छन् । जनरल वार्डमा राख्नुपर्ने बिरामी आए उनीहरुको हकमा भने बिरामीको कुल उपचार खर्चमध्ये २ देखि ५ प्रतिशतसम्म एम्बुलेन्स चालकलाई दिने गरेको स्रोतको दावी छ । चालकको हिसाब महिनाको अन्तिममा हुने अस्पताल संचालकहरु बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बिरामीलाई ठगी गरेको उजुरी परे कारवाही हुने बताए । ‘बिरामी ठगीमा परेको भनेर प्रशासन कार्यालयमा उजुरी आए प्रहरीलाई भनेर हामी कारवाहीको दायरामा ल्याउनेछौं,’ उनले भने । एम्बुलेन्सलाई दिने गरेको कमिसनको विषयमा बुझ्न श्री हस्पिटलका प्रशासन प्रमुख सुनिल यादवलाई सम्पर्क गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ