२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं, ललितपुर र कैलालीका २० जना हैजा पुष्टि, सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं, ललितपुर र कैलालीका २० जना हैजा पुष्टि, सचेत रहन मन्त्रालयको आग्रह


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनयता देशका तीन जिल्लाका २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबारको मन्त्रालयको विवरणअनुसार काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको हो ।

खुला दिसाको अभ्यास, सहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमीका साथै हरेक वर्ष वर्षायाममा हुने पहिरो र बाढीका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा नकारात्मक असर पार्ने गरेको हरेक वर्षामा नेपालमा हैजा देखिने गरेको मन्त्रालयले जनाएको छ । ‘प्रत्येक वर्ष विभिन्न क्षेत्रहरुमा हैजाको संक्रमण पुष्टि हुन्छन्,’ मन्त्रालयले भनेको छ, ‘यस वर्ष पनि साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको छ ।’

हैजा अति संक्रामक र छिटो फैलिने गर्छ । हैजा लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन् ।

मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा सजग र सर्तक रहन आग्रह गरेको छ । उसले झिगा लागेका, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुलास्थानका खाद्य पदार्थ नखान र पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन समेत भनेको छ ।

साथै, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात सफा गर्न, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिन र चर्पीको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ