काठमाडौं—राजधानीको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर नगरपालिकाले छोरीहरूको उच्च शिक्षामा विशेष ध्यान दिँदै नर्सिङ शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत नगरपालिकामा स्थायी बसोवास भएका छोरीहरूलाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने नगरप्रमुख दीपक रिसालले जानकारी दिए ।
नगरपालिकाका छोरीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको मार्ग प्रशस्त गर्ने विश्वासका साथ यो कार्यक्रम ल्याइएको रिसालको भनाइ छ । नगरपालिकाले आफ्ना स्थायी नागरिकहरूलाई यो छात्रवृत्ति कार्यक्रमको फाइदा उठाउनका लागि अनुरोध गरेको छ ।
कार्यक्रमको लागि आवेदन दिने इच्छुकहरूले आफ्नो नागरिकता प्रमाण–पत्र वा मतदाता परिचय पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नगर प्रमुख रिसाल जानकारी दिए।
रिसालकाअनुसार यो कार्यक्रममार्फत् नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढ्ने र उनीहरूको भविष्य उज्वल बनाउन भूमिका खेल्नेछ । शिक्षाका अतिरिक्त स्वास्थ्य, साहित्य, खेलकूदलगायतका क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले संचालन गर्दै आएका गतिविधिहरू अरु पालिकाका लागि पनि प्रेरणाको स्रोत भएका छन् ।