२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन


पोखरा–पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक स्तरीय उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा ल्याएको छ । बहिरङ्ग सेवाअन्तर्गत स्त्री तथा प्रसुति रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, बालरोग सेवा, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी सेवा, युएसजी र इसिजी सञ्चालन गरेको अस्पतालले दन्तरोग उपचार सेवा सुरु गरेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार दन्त विभागमा अस्थायी÷स्थायी रूपमा दाँत भर्ने तथा लगाउने, दाँतको रंगको सिमेन्ट भर्ने, दाँत सफा गर्ने र टल्काउने, गिजासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने, दाँत निकाल्ने र नयाँ दाँत प्रत्यारोपण गर्ने, दाँतको डिजिटल एक्सरे र ओपिजी गर्ने, बाङ्गो–टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत र मुखको माइनर सर्जरी गर्ने, एउटा पनि दाँत नभएको ठाउँमा दाँत लगाउने आदि सेवा उपलब्ध छन् ।

दन्त विभागमा मोटर जडित सक्सन, माइक्रो मोटर, एअर मोटर, अल्ट्रा सोनिक इस्क्यालर, सेन्सर प्यानलसहितका ८ वटा स्तरीय डेन्टल चेयर रहेको र डेन्टल चेयरमा नन्–टच सेन्सर लाइट जडित छन् । दन्त विभागलाई डेन्टल कम्प्रेसर, सीईपीएचसहितको ओपिजी मेसिन, आरभिजी सेन्सरको साथ डेन्टल एक्सरे मेसिन, क्लास बी अटोक्लेभ मेसिन, इनबिल्ट एपेक्स लोकेटरको साथ इन्डोमोटर, वाटर डिस्टिलर मेसिन, स्केलिङ मेसिन, अल्ट्रासोनिक क्लिनर, यूभी चेम्बर आदि राखिएको छ ।

दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एक जना पिसिएल डेन्टल हाइजीनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले जानकारी दिए । शिक्षण अस्पताल सरकारी भएकोले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको अस्पतालले दाबी गरेको छ ।

दन्त चिकित्सक डा. मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडी सेवा बिदाको दिनबाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवाहरू उपलब्ध रहेको बताइन् । अत्याधुनिक प्रविधिमा दाँतको डिजिटल एक्सरेसँगै पोखरामा कमै ठाउँमा रहेको दाबी गर्दै उनले मुखैभरिको टाउकोभरिको एक्सरे एउटै फिल्ममा देखाउन सकिने ओपीजी प्रविधिसमेत रहेको उनले सुनाइन् ।

डा. मानुषीले पियु अस्पतालमा एकसय रूपैयाँको टिकटमा जतिबेला पनि विशेषज्ञ डाक्टरहरू उपलब्ध हुने भएकोले छिटो र सस्तोमा फाइदा लिन सबै स्थानीयलाई आग्रह गरे ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल ई.सुसन्जित विजय कोइरालाले दाँतको उपचारका लागि ९० प्रतिशत उपकरणहरू सेटअप गरी सकिएको जानकारी दिए । हातको सेन्सरबाट चल्ने र मोटोराइज्ड सक्सन भएका तथा दाँत काट्ने, दाँत सफा गर्ने औजारसहितका सुविधायुक्त आरामदायी डेन्टल चेयर रहेको उनले बताए । उनले सिइपिएचसहितको ओपिजी मेसिनबाट दाँत तथा गर्दनको एक्सरे लिन सकिने प्रविधिबाट धेरै लाभान्वित हुनसक्ने बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ