२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा एचआईभी संक्रमितको शल्यक्रिया गर्न डराउँछन् चिकित्सक

कोशीमा एचआईभी संक्रमितको शल्यक्रिया गर्न डराउँछन् चिकित्सक

गाइनो वार्डमा संक्रमित गर्भवतीको शल्यक्रिया हुँदा अन्य वार्डमा माइनर सर्जरी पनि हुँदैन्


विराटनगर—विराटनगर महानगरपालिकाका ३५ वर्षीय श्याम कामत (नाम परिवर्तन) पेट असाध्यै दुखेपछि घरनजिकको हस्पिटल कोशीमा पुगे । उनलाई एचआईभी संक्रमित भनेपछि चिकित्सकले बेवास्था गरे । लामो समय पर्खेपछि उनको भिडियो एक्स—रे भयो । त्यसपछि देखियो किड्नीमा पत्थरी ।

चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । तर, कोशी अस्पतालमा एचआईभी संक्रमित भनेपछि चिकित्सकले शल्यक्रिया गर्न मान्दैनन् । आवश्यक स्वास्थ्य सुरक्षा कवच नभएको भन्दै शल्यक्रिया नहुने गरेको हो । तर, एचआईभी संक्रमित गर्भवती महिलाको हकमा (पिएमटिसिटी) सर्जरी भने हुने गरेको छ । श्यामको शल्यक्रिया कोशीमा नहुने भएपछि उनी विपी कोइराला विज्ञापन प्रतिष्ठमा पुगे र त्यहाँ उनले शल्यक्रिया गरेर १५ एमएमको पत्थरी निकालियो । अहिले उनी ठिक छन् ।

कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा एचआईभी संक्रमितको शल्यक्रियाबाट गरिने उपचार नपाउने श्याम मात्र होइन्, सयौं संक्रमितले सामान्य पिलोमा गरिने माइनर सर्जरी पनि कोशी अस्पतालमा हुँदैन् । जसले गर्दा बाध्य भएर बिरामी भएका एचआईभी संक्रमित थप उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान बाध्य छन् ।

कोशी अस्पतालमा स्त्री तथा प्रसूती विभागमा एचआईभी संक्रमित गर्भवती महिलाको शल्यक्रिया भने वर्षौदेखि हुने गरेको छ । यो सर्जरीलाई मेडिकल भाषामा ‘पिएमटिसिटी’ सर्जरी भन्ने गरिन्छ । तर, एचआईभी संक्रमित भएका बिरामीको सामान्य शल्यक्रिया गर्नुपर्ने अवस्था देखिंदासमेत कोशीका चिकित्सक डराउने गरेको नेशनल एसोसिएसन अफ पिपुल लिभिङ वीथ एचआईभी महासंघ (एनएपी प्लसएन) कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले बताए ।

सरकारी अस्पतालमा एचआईभी संक्रमितको उपचार नहुँदा सास्ती पाएको जानकारी गराउँदै संक्रमितहरुको हकहितमा काम गर्ने संस्था एनएपीप्लसएन कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राई । तस्विर: अनिल श्रेष्ठ

‘कोशीको गाइनो विभागमा एचआईभी संक्रमित गर्भवती महिलाको शल्यक्रिया हुन्छ । तर, त्यही अस्पतालको अन्य विभागमा एचआईभी पीडित अन्य बिरामीको कुनै पनि रोगको शल्यक्रिया नहुनु भनेको एचआईभी संक्रमित बिरामीसँग चिकित्सक डराएको हो,’ उनले भने, ‘राज्यले एचआईभी संक्रमण रोकथाम र नियन्त्रण भन्दै अहिले अभियान चलाएको छ । सन् २०३० सम्म नेपालमा एचआईभी निर्मुल पार्ने घोषणा छ । तर, एउटै अस्पतालमा यसरी संक्रमितलाई विभेद्पूर्ण तरिकाले स्वास्थ्य उपचारबाट बन्चित गरेपछि कसरी सरकारको लक्ष्य पूरा हुन्छ ?’

उनले तत्काल कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा अन्य बिरामीले जस्तै संक्रमितको पनि सबै प्रकारको शल्यक्रिया गरिनुपर्ने माग राखेको छन् । ‘त्यसको लागि राज्यले छुट्टै संक्रमितको शल्यक्रिया गर्नको लागि संरचना र उपकरणहरु राखेर भएपनि गरिनुपर्दछ । राज्यले चलाएको अभियान त्यही मातहतको निकायमा लागु नहुनु कस्तो बिडम्बना हो ?,’ उनले प्रश्न गरे, ‘४ हजार बढी एचआईभी संक्रमित रहेको कोशी प्रदेशमा सहज रुपमा उपचार नपाउँदा संक्रमितलाई धेरै समस्या परेको छ ।’ कतिपय संक्रमितले समयमै उपचार नपाउँदा मृत्युवरण पनि गर्नुपर्ने अवस्था सिर्जना भएको उनले सुनाए ।

४ हजार बढी संक्रमित रहेको प्रदेशमा २ हजार ४ सय ७ जनाले नियमित औषधि सेवन गर्दै आएका छन् । जसमध्ये ८७ जना एचआईभी संक्रिमत बालवालिका रहेका छन् । एचआईभी संक्रमितको शल्यक्रिया सरकारी अस्पताबाट नहुँदा उपचारबाट बन्चित हुनु परेको उनले बताए ।

यता कोशी अस्पतालका मेसु डा. रविराज सिंहले सुरक्षा कवच र प्रोटोकल नभएको कारणले संक्रमितको शल्यक्रिया गर्न नसकेको बताए । पछिल्लो समय चिकित्सकहरुसँग छलफल गरेर संक्रमितहरुको शल्यक्रिया सावधानी अपनाएर भएपनि शल्यक्रिया गर्नेबारेमा तयारी गरिएको उनले बताए । सर्जनसमेत रहेका मेसु सिंहले भने, ‘त्यसका लागि मैले चिकित्सकहरुसँग छलफल पनि चलाएको छु । केही दिनमा सकारात्मक सन्देश आउनेछ ।’

डा. सिंहले प्रोटोकललको कारण देखाएर संक्रमितको शल्यक्रिया नभएको भनिरहँदा गाइनो वार्डका एक जना चिकित्सकले भने, ‘यो बहानाबाजी मात्र हो । हामीले गाइनो वार्डमा वर्षौदेखि संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरेर नवजात शिशुलाई जन्म दिइरहेका छौं । हामीले यसरी उपचार गर्न नसक्दा अन्य वार्डमा सर्जरी गर्न सकिदैन् भन्ने हुन्छ ? । त्यो भनेको डराएर गरिएको एउटा बहनाबाजी मात्रै हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ