२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित)

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित)

१९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको क्यानद्वारा पुष्टि


काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे २०० जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको पाइएको छ । बुधबार विहान ११ बजे पोखरा उडानका क्रममा टेकअपलगतै उक्त विमान दुर्घटनामा परेको थियो ।

उक्त विमानमा चालक मनिष शाक्य र कोपाइलट एस कटवालसहित १९ जना थिए । उनीहरु धेरै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

जसमध्ये पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यलय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले उनको जीवित उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) सिनामंगल लगिएको छ ।

३७ वर्षीय शाक्यको अवस्था गम्भीर रहेको बताइएको छ । ‘भर्खरै बिरामी ल्याइएको छ । अहिले नै भन्न सकिने अवस्था छैन,’ केएमसीका सर्जन डा. सुमन श्रेष्ठले भने । उनी सन् २०१४ देखि सौर्य एयरलाइन्समा कार्यरत रहेका थिए ।

उद्धार गरेर दुई जनालाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ल्याइएकोमा उनीहरुको पनि मृत्यु भइसकेको जानकारी प्राप्त भएको त्रिवि शिक्षण अस्पतालमा निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजमा सवार १९ जनामध्ये एक जनाको उद्धार गरिएको र अन्य १८ जनाको शव संकलन गरिएको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ