२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो

नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो

९, १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो भ्याक्सिन लगाइने


काठमाडौं—१४ वर्षपछि नेपालमै पहिलो पटक काठमाडौंको ढलमा पोलियोको भाइरस भेटिएको छ । १३ जेठमा काठमाडौंको ढलबाट संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा पोलियो भाइरस भेटिएको हो ।

२९ असारमा प्रयोगशाला परीक्षण गर्दा काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । ‘काठमाडौंको त्रिपुरेश्वर नजिकैको टुकुचा र बागमतीको संगमस्थलबाट संकलन गरिएको नमुनामा २९ असारमा प्रयोगशाला परीक्षण गर्दा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ,’ उनले भने, ‘यो पोलियोमुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको छ ।’

नेपाललाई सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको थियो । सन् २०१० सेप्टेम्बरपछि नेपालमा पोलियोको भाइरस देखिएको थिएन ।

नेपाल पोलियो रोगमुक्त भएतापनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुई पटक र उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट महिनाको एक—एक ठाउँबाट एक पटक नमुना संकलन गरेर परीक्षण गरिदैं आइएको छ ।

उपत्यकाको वातावरणमा पोलियो भाइरस देखिएपछि सरकारले पाँच वर्षमुनिका बालबालिकाहरुलाई पुनः पोलियो थोपा खुवाउने योजना बनाएको छ ।

काठमाडौंको ढलमा भेटिएको भाइरस टाइप थ्री पोलियो भाइरस हो । जुन पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस हो ।

ढलमा पोलियो भाइरस भेटिएपछि ९, १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो भ्याक्सिन लगाइने डा. गौतमले जानकारी दिए ।

(१४ वर्षपछि हुनुपर्नेमा यसअघि १० वर्ष भएकाले सच्चाइएको छ । स.)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ