२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने

स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने

सिकलसेल एनिमियाका बिरामीले आजीवन खाने औषधि बीमाले कभरेज गर्ने औषधीको सूचीमा


नेपालगन्ज—पश्चिम नेपालका आदिबासी थारु जातिमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुले नियमित खानुपर्ने हाइड्रोक्सियुरिया र फोलिक एसिड नामक औषधि स्वास्थ्य बीमा कार्यक्रमले कभर गर्ने औषधिहरूको सूचीमा थपिएका छन् । सिकलसेल एनिमियाका बिरामीहरुले आजीवन दैनिक दुई ट्याब्लेट हाइड्रोक्सियुरिया नामक औषधि खानु पर्छ ।

प्रति ट्याब्लेट १८ रुपैयाँदेखि २४ रुपैयाँसम्म पर्ने हाइड्रोक्सियुरिया स्वास्थ्य बीमा कार्यक्रममा समावेस भएपछि सिकलसेलका बिरामीहरू लाभान्वित हुने भएका छन् । स्वास्थ्य बीमाले कभर गर्ने औषधिको सूचीमा थपिएको हाइड्रोक्सियुरिया र फोलिक एसिड नामक औषधि स्वास्थ्य बीमा गराएका सिकलसेल एनिमियाका बिरामीहरुले १ भदौं २०८१ देखि नेपालगन्जको भेरी अस्पतालको फार्मेसीबाट उपलब्ध हुने अस्पतालका फार्मेसी शाखा प्रमुख पदम अर्यालले बताए ।

सिकलसेलका बिरामीहरुलाई नेपाल सरकारले एक लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएपनि उपचारका क्रममा एक लाख रुपैयाँ बराबरको सुविधा लिइसकेका बिरामीहरुले हाइड्रोक्सियुरिया र फोलिक एसिड नामक औषधि किनेरै खाँदैं आएका थिए ।

सिकलसेल एनिमियाका बिरामीहरुका लागि थारु जातिहरुको बाहुल्यता भएका बाँके, बर्दिया, कैलाली र दाङका केही पालिकाहरुले स्वास्थ्य बीमा गराइदिदैं आएका थिए । स्वास्थ्य बीमा भएपनि बीमाले कभरेज गर्ने औषधिको सूचीमा हाइड्रोक्सियुरिया र फोलिक एसिड नामक औषधि नहुँदा बिरामीहरुले आफैले औषधि किनेर खाँदैं आएका थिए ।

आर्थिक अवस्था नाजुक भएका बिरामीहरुलाई औषधि किनेरै खानसमेत हम्मे—हम्मे पर्ने गरेको थियो । बर्दियाको जिल्ला अस्पताल, प्राथमिक उपचार केन्द्र तथा नेपालगन्जको भेरी अस्पतालबाट करिब १५ सय सिकलसेल एनिमियाका बिरामीहरुले उपचार सेवा लिदै आएका छन् ।

भेरी अस्पतालका नेपालगन्जका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन तथा सिकलसेल एनिमिया रोग विशेषज्ञ डा. राजन पाण्डेले सिकलसेल एनिमिया रोगका बिरामीले जीवनभर खानुपर्ने हाइड्रोक्सियुरिया लगायतका औषधि स्वास्थ्य बीमामा समेटिएपछि हजारौं बिरामीहरु लाभाविन्त भएको बताए । स्वास्थ्य बीमाले कभरेज गर्ने औषधिको सूचीमा हाइड्रोक्सियुरियालगायतका औषधि समावेस भएपछि बिरामीहरुले सहज रुपमा जीवनभर नै घर नजिकैको स्वास्थ्य संस्थाबाट औषधि पाउने भएकाले गरिब तथा विपन्न परिवारका बिरामीहरु धेरै ठूलो राहात पाउने डा. पाण्डेले बताए ।

बीमाले कभरेज गर्ने सूचीमा ती औषधि नहृुँदा भेरी अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत सिकलसेल एनिमियका करिब २ सय ५० जना बिरामीलाई औषधि उपलब्ध गराउँदैं आएको थियो ।

बीमाले कभरेज गर्ने सूचीमा हाइड्रोक्सियुरिया र फोलिक एसिड नामक औषधि समावेस भएपछि भेरी अस्पतालको फार्मेसीबाट स्वास्थ्य बीमा गरेर बिरामीलाई औषधि उपलब्ध गराउने र बीमाबाट त्यसको पैसाका भुक्तानी लिने ब्यवस्था मिलाइने भेरी अस्पतालका बीमा फोकल पर्सन दिपेश आचार्यले बताए । नेपालमा सिकलसेल एनिमियाका करिब ५ हजार बिरामी भएको अनुमान छ । तीमध्ये करिब १५ सय बिरामीले बाँके र बर्दियाका अस्पतालबाट उपचार सेवा लिदैं आएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ