व्यवस्थापन समूह खोज्दैं महेन्द्रनारायण निधि मेमोरियल हस्पिटल
व्यवस्थापन दिन हेराल्ड कलेज समूहसहित तीन वटा समूहसँग छलफलमा

काठमाडौं—पछिल्लो समय आर्थिक संकट झेलिरहेको बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले नयाँ व्यवस्थापन खोजी गरिरहेको पाइएको छ । अस्पतालले गत मंसिरदेखि नै नयाँ व्यवस्थापन समूहको खोजी गरिरहेको हो ।
अस्पतालका अध्यक्ष कृष्ण वस्तीले आफूहरुले नयाँ व्यवस्थापन ल्याउनका लागि छलफल चलाइरहेको बताए । ‘हामीले अस्पतालमा नयाँ व्यवस्थपन ल्याउनका लागि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘हेराल्ड कलेज संचालन गरिरहेको समूह र अन्य दुई वटा समूहसँग पनि छलफल चलिरहेको छ ।’ उनकाअनुसार चिकित्सकसहितको टिमलाई अस्पतालको व्यवस्थापन दिने कि भन्ने विषयमा पनि छलफल जारी छ ।
हेराल्ड कलेजका अध्यक्ष कपिल ज्ञवालीले अस्पतालको व्यवस्थापन लिने विषयमा छलफल चलिरहेको पुष्टि गरे । ‘डिल टुंगो लागेको छैन्,’ उनले भने, ‘छलफल चलिरहेको छ ।’ ज्ञवालीले पनि अस्पतालमा नयाँ व्यवस्थापन भित्र्याउने गृहकार्य भइरहेको बताए ।
तर, अस्पतालले अहिलेसम्म व्यवस्थापन समूह भने टुंगो लगाइसकेको छैन । नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको स्मृतिमा खोलिएको यो सामुदायिक अस्पताल हो । तर, पछिल्ला केही वर्षदेखि अस्पतालले आर्थिक अभावका कारण संचालनमा समस्या भोगिरहेको छ । अहिले पनि अस्पताल आंशिक रुपमा मात्रै संचालनमा रहेको छ ।
महेन्द्रनारायण निधि सहकारीअन्तर्गत संचालित यो अस्पताल १०० शैय्याको स्वीकृती प्राप्त अस्पताल हो । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालको ६ तलाको भवन रहेको छ । यो अस्पताल नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको सम्झनामा उनका छोरा विमलेन्द्र निधिलगायतले स्थापना गरेका हुन् ।
सामुदायिक अस्पतालले यसअघिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुँजीगत अनुदान पाउँदैं आएका थिए । वि.सं. २०७१/७२ मा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट ५ करोड पुँजीगत अनुदान पाएको थियो भने वि.सं. २०७३ मा ३ करोड रुपैयाँ अनुदान पाएको थियो ।
तत्कालीन समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापाले अनुदान सम्बन्धि निर्देशिका संशोधन गरेर सहर केन्द्रीत अस्पताललाई अनुदान नदिने प्रावधान राखेका थिए । तर, उनले त्यतिबेला उक्त नियम विपरित महेन्द्रनारायण निधि अस्पताललाई भने अनुदान दिएका थिए । स्वास्थ्य मन्त्रालयले दिने अनुदानमा बेथिती बढेपछि त्यसमा सरकारले यो आर्थिक वर्षमा त्यसमा अकुंश लगाइदिएको छ ।
अस्पतालले पछिल्लो समय कर्मचारीहरुलाई तलबभत्ता समेत दिन सकेको छैन । लामो समयदेखि तलब भत्ता रोकिएका कारण कर्मचारीहरुसमेत आन्दोलन गर्दै आएका छन् ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
- ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
तपाईको प्रतिक्रिया दिनुहोस