२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं

वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं

के छ वर्षाको समयमा कोशी प्रदेशमा स्वास्थ्यको पूर्व तयारी ?


विराटनगर–देशभर मनसुन सक्रियभएसँगै केही दिनयता अविरल वर्षा भइरहेको छ । पानी परिरहने, पानी जम्मा हुने र पानी दूषित हुने भएकाले यस्तो बेला विभिन्न सरुवा रोगको जोखिम हुन्छ ।

वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन् । दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘ई’ लगायतका सरुवा रोगको संक्रमण कोशी प्रदेशमा देखिन थालेको छ । वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँजस्ता पानीजन्य संक्रमण रोगहरुका बिरामीहरू अस्पतालमा आउन थालेका छन् ।

पानीजन्य रोग देखा परेपछि विराटनगरको सरकारी अस्पताल कोशी र निजी अस्पतालहरू मोरङ सहकारी, नोबेल र विराट टिचिङ अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको चाप पनि देखिन थालेको छ ।

अहिले कोशी अस्पतालमा झाडा पखाला, हैजा, टाइफाइडलगायतका विभन्न रोगका बिरामी आउन थालेको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा झाडा पखाला, हैजा, पानीजन्य रोगका बिरामी आकस्मिक कक्षमा आउन थालेको अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए । ‘वर्षायाम सुरू भएपछि दूषित पानीको सेवनका कारण झाडापखाला, हैजा टाइफाइटका बिरामीको संख्या बढेका छन् । अस्पताल आउने बिरामीमध्ये करिब २० प्रतिशत पानीजन्य रोगका विरामी आउने गरेका छन्,’ कोशी अस्पतालको ओपीडीमा दैनिक ८ सय देखि १ हजार बिरामीले स्वास्थ्य सय सेवा लिने गरेका छन् ।’ जसमध्ये ७० देखि ८० जना सम्म पानीजन्य रोगका विरामीहरु आकस्मिक कक्ष र ओपीडीमा आउने गरेको अस्पतालले जनाएको छ ।

पानीजन्य संक्रमण रोगहरु देखा पर्ने र यसको रोगथामर नियन्त्रणमा प्रदेश सरकार र स्थानीयतहको भूमिका पनि प्रभावकारी देखिएको छैन । संक्रमण रोगको रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको भूमिकासमेत असाध्यै फितलो देखिएको छ । कोशीमा वर्षायाम सुरु भएपछि हुने पानीजन्य संक्रमण रोगको रोकथाम र नियन्त्रणमा सरकारको भूमिका कमजोर देखिएको प्रदेश सभा सदस्य भीम पराजुलीले बताए ।

‘प्रदेश सरकार पानीजन्य संक्रमण रोगको रोकथाम र नियन्त्रणमा राम्रो सँग गर्न सकेको छैन । हामीले सदनमा पनि यस विषयमा आवज उठाएका छौं,’ उनले भने, ‘विपद व्यवस्थापनको पूर्व तयारी सरकारले गरिनुपर्ने थियो । त्यो अहिलेसम्म गरेको छैन ।’

लगातारको वर्षापछि यतिबेला पहाडी जिल्लामा पहिरा र तराईंमा बाढी, डुबानको चपेटा परेको छ । त्यही प्राकृतिक विपद्मा परेर धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । वर्षेनी आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न बेलैमा ध्यान नदिँदा सर्वसाधारणले वर्षेनी ज्यान गुमाउने र क्षति भोग्ने क्रम बढिरहेको सांसद पराजुलीले बताए ।

बर्षाको समयमा खाने कुरा राम्रोसँग पकाएर खाने र उमालेको पानीलाई सफा भाडामा छोपेर राखी आवश्यकताअनुसार पिउनेले स्वास्थ्य रहने वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए । मनसुन सक्रिय हुने बित्तिकै पानीजन्य रोग नदेखिएपनि जोखिम भने बढेको उनले बताए । ‘बाढी भर्खरै आएको छ । बाढी आउने बित्तिकै पानीजन्य रोग देखा पर्दैन तर जोखिम बढेको छ,’ उनले भने, ‘अब पानी ठाउँ—ठाउँमा जम्ने, ढलहरू फुट्ने र खानेपानी दूषित हुने हुन्छ । त्यो भएपछि झाडापखाला बढी देखिन्छ । हैजा पनि फैलिन्छ । ’

सबै क्षेत्रमा पानी भरिएपछि सर्प, बिच्छी, किर्ना, लामखुट्टे पनि बढ्ने उनले बताए । ‘पानी सबैतिर भरिएर सर्प बाहिर निस्कन्छन्, जोखिम बढ्छ,’ उनले भने, ‘मलेरिया, डेंगी बढी देखिन सक्छ । त्यो सँगसँगै जन्डिस पनि देखिन सक्छ ।’

दूषित पानीका कारणले वर्षाका बेलामा झाडापखाला, हैजा, टाइफाइडलगायत स्वास्थ्य समस्या देखिन सक्ने डा. खड्काले बताए । ‘विशेष गरेर बाढी आउँदा पानीजन्य रोगको समस्या देखिन्छ । मनसुनमा पनि नदेखिने होइन तर बाढीमा जोखिम बढ्छ । झाडा पखाला गराउने, ज्वरो ल्याउने खालेका सङ्क्रामक रोग कुनै पनि बेला फैलिन सक्छ,’ उनले भने, ‘किनभने हाम्रो पिउने पानीमा ढलको पानी मिसिएर आउँछ । यसले हैजा, टाइफाइड, भाइरल हेपाटाइसिस ए र ई हुन्छ । अर्को लेप्टोस्पाइरोसिसको पनि आउट ब्रेक हुनसक्छ ।’

कोशी प्रदेशमा के छ वर्षाको समयमा स्वास्थ्यको पूर्व तयारी ?

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रवक्ता डा. सुरेश मेहताले पानीजन्य रोगको रोकथाम र उपचारमा प्रदेश मातहतको जिल्ला अस्पतालहरुबाट हुँदै आएको बताए । यो पटक पानी वर्षा लाग्नुअघि नै अस्पतालका कर्मचारीलाई पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्न मन्त्रालयले निदर्नेशन दिएको बताए ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट हुने गरेको उनले बताए । स्थानीय तह र प्रदेश सरकार मिलेर पानीजन्य रोगगको रोकथाम र नियन्त्रणमा लागि परेको उनले बताए ।

मन्त्रालयले चेतना मूलककार्यक्रमहरू गर्दै आएको उनको भनाइ छ । त्यस्तै, ग्रामीण भेगहरूमा पानीजन्य सरुवा रोगको प्रकोप अझ बढी हुने भएकाले ती क्षेत्रहरूमा पानीको परीक्षण गर्ने गरिएको छ । मानिसहरू आफै सचेत भएर सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ