२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविज्ञान पढेका स्वास्थ्यमन्त्री भन्छन्, ‘स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने बनाउन लाग्छु’

विज्ञान पढेका स्वास्थ्यमन्त्री भन्छन्, ‘स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने बनाउन लाग्छु’


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव गर्ने गरी काम गर्ने बताएका छन् । सोमबार मन्त्री नियुक्त भएका उनले पदभार ग्रहणलगतै सामान्य प्रतिक्रिया दिदैं आफू स—साना कामहरु गर्ने बताएका हुन् ।

‘यहाँ ठूला कुरा गर्न गाह्रो होला । तर, साना—साना काम गर्छु,’ विज्ञान विषय पढेका मन्त्री पौडेलले भने, ‘नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यतातर्फ लाग्छु ।’ उनले सबैको क्यापासिटी त्यसमा लगाउनुपर्नेमा जोड दिए ।

‘म निर्देशन दिनेतिर होइन, मिलेर काम गर्नेतिर लाग्छु,’ उनले थपे, ‘साझा उद्देश्य पूरा गर्नेतिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौं । मलाई सिकाउनुहोला।’ उनले मन्त्रालयमध्येमा विधि सिकाउने, पद्धति सिकाउने मन्त्रालयमा आफू आएको उल्लेख गर्दै राजनिती लिगेसी स्वास्थ्यमा नदेखिने बताए ।

‘स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो वुद्धि, विवेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला।’

पौडेलले उत्साह लिएर मन्त्रालय आएको बताउँदैं त्यही उत्साह सहित बिदा हुने चाहना रहेको बताए । ‘देशमा सबै तिर निराशा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु,’ उनले भने, ‘त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबै सँग सहकार्य गरेर अघि बढ्छु।’

स्वास्थ्य सचिव रोशन पोखरेलले म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको बताए । ‘त्यसका लागि मन्त्रालयका सिंगो कर्मचारीले साथ दिनेछ,’ उनले भने, ‘आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको छ। टिमवर्क बाट अघि बढ्न हामी तयार छौं ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ