२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोकसेवा आयोगको परीक्षा दिन काठमाडौं आउँदैं गरेका दुई स्वास्थ्यकर्मी त्रिशुली दुर्घटनामा बेपत्ता

लोकसेवा आयोगको परीक्षा दिन काठमाडौं आउँदैं गरेका दुई स्वास्थ्यकर्मी त्रिशुली दुर्घटनामा बेपत्ता


काठमाडौं—नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको सिमताल पहिरोमा परेर पुरिएको एक बसमा सवार दुई जना स्वास्थ्यकर्मी बेपत्ता रहेको पाइएको छ । शुक्रबार विहान सिमतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदैं गरेको प्रदेश ०३००६ ख १५१६ नंं को एन्जल डिलक्स बस  परेर पुरिएको थियो ।

उक्त बसमा  पर्साको सखुवा प्रसौनी गाउँपालिकाको महुवन वर्थिङ सेन्टरमा कार्यरत दुई स्वास्थ्यकर्मी पनि रहेको पाइएको हो ।

गाउँपालिकाका अध्यक्ष जसवन्त यादवकाअनुसार बसमा गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मी कलैया उपमहानगरपालिकाकी सृष्टि यादव र सखुवा प्रसौनी गाउँपालिका—३ कटैयाका रैफुल आलम रहेका थिए । ‘उहाँहरु दुवै जना लोकसेवा आयोगको परीक्षा दिन काठमाडौं जान लाग्नुभएको थियो,’ उनले भने, ‘अहिले दुवै जना वेपत्ता हुनुहुन्छ ।’

अध्यक्ष यादवकाअनुसार उनीहरु दुवै जना सखुवा प्रसौनी गाउँपालिकास्थित वर्थिङ सेन्टरमा कार्यरत स्वास्थकर्मीहरू हुन् । दुर्घटनामा वेपत्ता रहेकी सृष्टि रेडियोग्राफर हुन् भने रैफूल ल्याब असिस्टेन्ट हुन् । उनीहरु दुई वर्षदेखि गाउँपालिकामा करार सेवामा कार्यरत रहेको उनले जानकारी दिए ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख रुपनारायण साहकाअनुसार उनीहरु दुवैजना प्रसौनी वीरगञ्ज हुँदैं काठमाडौका लागि छुटेको एन्जल बसमा बिहीबार चढेका थिए । ‘हिजो सोही बसमा काठमाडौं जाने भनेर चढ्नुभएको थियो,’ साहले हेल्थआवाजसँग भने, ‘हामीले बारम्वार सम्पर्क प्रयास गरिरहेका छौं । अहिलेसम्म सम्पर्क भएको छैन ।’ उनीहरु दुवैले आइतबारसम्मको विदा स्वीकृत गराएका थिए ।

एन्जल डिलक्सको उक्त बसमा चालक, सह—चालकसहित २४ जना सवार रहेका थिए । काठमाडौंबाट गौरका लागि हिडेको गणपति डिलक्सको बसमा पनि पहिरोमा परेर त्रिशुलीमा खसेको छ । जसमा २७ यात्रु रहेको प्रारम्भिक अनुमान छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ