२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबजेट सक्नुपर्ने भएपछि कास्कीका स्वास्थ्य संस्थामा औषधी पर्याप्त

बजेट सक्नुपर्ने भएपछि कास्कीका स्वास्थ्य संस्थामा औषधी पर्याप्त

विपत् तथा महामारी प्रतिकार्य सुस्त


पोखरा—कास्कीका स्वास्थ्य संस्थाहरुमा औषधी स्टक पर्याप्त रहेको सम्बन्धित अधिकारीले बताएका छन् । ४ गाउँपालिका र १ महानगरपालिका रहेको कास्कीका स्वास्थ्य संस्थामा औषधी स्टक रहेको छ । सरकारी स्वास्थ्य संस्थामा आर्थिक वर्षको अन्त्यमा बजेट सक्नुपर्ने भएकाले पनि संघीय सरकारले नै पर्याप्त औषधी पठाउने गरेको एक जनप्रतिनिधिले बताए ।

‘आर्थिक वर्षको अन्त्यमा औषधी अभाव भन्ने कुरै हुँदैन । आर्थिक वर्ष मध्यसम्म टेन्डरलगायत कारणले अभाव हुने भए पनि आवको अन्त्यमा बजेट सक्नुपर्ने भएपछि संघीय सरकारले नै घुइँघुइँ पठाइदिन्छ,’ उनले भने ।

औपचारिक रुपमा गठन भएका समितिबाहेक महामारी प्रतिकार्य तयारी खासै भएको देखिँदैन् । पालिकास्तरीय समितिले जिल्लासँग समन्वय गरेर काम गर्ने बताउँछन् ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा गाउँपालिका आफैंले अस्पताल सञ्चालन गरिरहेकाले औषधी अभाव हुन नदिने गरी काम गरिरहेको बताउँछन् । विपत् तथा महामारीमा पालिकास्तरीय टिम बनाएर तयारी गरिएको उनी बताउँछन् । ‘विद्यालय र विद्यार्थीमार्फत् समुदायमा सचेतना कार्यक्रम चलिरहेको छ, क्लब आमा समूह पनि परिचालन गर्न सकिन्छ, महामारी तथा विपत्मा उद्धार तथा नियन्त्रणका लागि टिम तयारी अवस्थामा रहेको छ ।’

माछापुच्छे गाउँपालिकामा पूर्व तयारीस्वरुप सदस्यीय औषधी व्यवस्थापन तथा आपूर्ति समिति गठन स्वास्थ्य शाखा संयोजक डिल्लीराम दाहाल बताउँछन् । स्वास्थ्य स्वयंसेविकामार्फत् सूचना संकलन हुने गरेको छ । ‘पालिकामा विपद् व्यवस्थापन समिति छ, डाटाबेसमा काम हुन्छ, मागका आधारमा औषधी स्वास्थ्य संस्थामा पठाउँछौं । यथेस्ट औषधी छ,’ उनले भने ।

सचेतना तथा विपद्मा उद्धार सामग्री पालिकाले प्रदान गरेको माछापुच्छे गापाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको समूह छ, समस्या आयो भने सूचना पाएलगत्तै खटिने र बिदा नबसी नहुने अवस्थाबाहेक कार्यालय नछोड्ने गरी निर्देशन भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल बताउँछन् । कम्युनिटी रेस्पोन्स टिम (सिआरटी) र ¥यापिड रेस्पोन्स टिम (आरआरटी) टोली सक्रिय हुने उनको भनाइ छ ।

मादी गाउँपालिकामा पनि अन्य पालिकाको जस्तै टिम त तयार छ, तर तत्काल कसरी अघि बढ्ने भन्ने निर्णय गर्न छलफलकै तयारीमा रहेको मादी गाउँपालिका प्रवक्ता तथा मादी २ का अध्यक्ष भोजबहादुर गुरुङ बताउँछन् ।

सरुवा तथा संक्रामक रोग महामारी प्रतिकार्यस्वरुप प्रदेशस्तरीय समिति बनेको छ । संक्रामक तथा सरुवा रोग अस्तालका निर्देशक डा. विकास गौचन डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका लागि पहिलो चरणको तालिम प्रदान गरिएको बताउँछन् । स्थानीय पालिकासँगको समन्वयमा डेंगीका लार्भा नष्ट गर्ने गरी काम गर्ने तयारी छ । उनका अनुसार डेंगीको संक्रमण बढ्ने समय भएको तर सामान्य अवस्था रहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ