२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएण्डबीमा एकैदिन तीन बिरामीको रोबोटिक सर्जरी

बीएण्डबीमा एकैदिन तीन बिरामीको रोबोटिक सर्जरी


काठमाडौं—ललितपुरको बीएण्डबी अस्पतालमा सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीन वटा रोबोटिक सर्जरी भएको अस्पतालले जनाएको छ ।

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट तीन जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् ।

ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले रोबोटिक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।

रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डा. लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनै जना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

डा. शर्माले भनिन्, ‘यो मेरो करिअरको महत्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो ।’

बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार अस्पतालमा रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए ।

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ ।

यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाइ छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न । यो सर्जरीमा संक्रमणको सम्भावना पनि कम हुने डा. शर्माले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ