२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँका अब्बल विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदैं स्थानीय सरकार

गाउँका अब्बल विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदैं स्थानीय सरकार

गाउँपालिकाको छात्रवृत्तिमा देवदह मेडिकल कजेजमा एमबीबीएस अध्ययन गर्दै नवीन


जुम्ला—पातारासी गाउँपालिका–४ लुमगाउँ २५ वर्षीय नवीन रेउले अहिले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा दोस्रो वर्ष अध्ययनरत छन् । उनी पातारासी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा एमबीबीएस अध्ययन गर्दै आएका छन् ।

साढे पाँच वर्षे एबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ रकम खर्च लाग्छ । ४६ लाखमध्ये ७५ प्रतिशत अर्थात ३५ लाख रुपैयाँ गाउँपालिकाले अनुदान सहयोग गरेको छ ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हेल्थ असिस्टेन्ट (एचए) अध्ययन गरेका हुन् । ‘सामान्य कृषि पेशा व्यवसाय गर्ने बुवाआमाले एचएसम्म त पढाउनु भयो । त्योभन्दा माथि पढ्ने चाहना भएपनि घरपरिवारको क्षमता भने थिएन्,’ नवीन भन्छन् ।

एमबीबीएस पढ्ने चाहना हुँदा पनि खर्च अभावका कारण खुम्चिएर बस्नु परेको उनले बताए । तर, उनलाई कसरी एबीबीएस अध्ययन गर्ने भन्ने चिन्ताले पिरोल्दै आएको थियो । ‘पातारासी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० मा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग गर्ने सूचना प्रकाशन ग¥यो,’ उनले सुनाए, ‘त्यही सूचनाकै आधारमा पालिकामा निवेदन पेस गरेपछि एमबीबीएस अध्ययन गर्ने मौका जुरेको हो ।’

देवदह मेडिकल कजेजमा एमबीबीएस अध्ययन गरिरहेका नवीन

एमबीबीएस पढ्ने धोको गाउँपालिकाले पूरा गरिदिएकोमा उनी खुसी छन् । पातारासी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाका अनुसार यो पालिका अन्य गाउँपालिकाभन्दा शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगार सबै क्षेत्रमा पछाडि परेको गाउँपालिका हो ।

पालिकाको स्वास्थ्य क्षेत्रलाई माथि उकास्नका लागि गाउँपालिकाले हरेक वर्ष अनुदानमा डाक्टर पढाउने बजेट बिनियोजन गर्दै आएपछि विद्यार्थी पाउने गरेको थिएन् । विनियोजित बजेट फ्रिज जाने गरेको थिए । गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि बजेट विनियोजन गरेको उनले बताए । ‘आर्थिक वर्ष ०७९/०८० देखि एक जना स्थानीय नवीन रेउलेलाई चिकित्सा शिक्षा एमबीबीएस अध्ययन गराउँदैं आएको छ । जम्मा खर्चको ७५ प्रतिशत अर्थात ३५ लाख रुपैयाँ बजेट अनुदानमा एमबीबीएस अध्ययन गराएको हो,’ उनले भने । गाउँपालिकाले वार्षिक ७ लाख रुपैयाँ बजेटका दरले पाँच वर्षमा ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा आर्थिक वर्ष ०८०/०८१ मा बजेट विनियोजन गरेको थियो । तर, चिकित्सा शिक्षा अध्ययनका लागि एक जना पनि विद्यार्थी आएनन् । कार्यविधी पनि बनेको थिएन । त्यो बजेट फ्रिज नै हुने देखिएको छ ।

आर्थिक वर्ष ०८१/०८२ का लागि छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यविधी पनि बनेर कार्यपालिकाबाट पारित पनि भएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए । ‘अध्ययनका लागि विद्यार्थी आउनुपर्ने हुन्छ । हामीले कार्यविधी बनाइसकेका छौं,’ उनले भने ।

एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेमा पहिलो वर्षको पढाइ खर्चका लागि वर्षमा एक जनालाई १५ लाख रुपैयाँ प्रदान गर्न बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । पालिका भित्रका गरिब विपन्न परिवारका जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस, इन्जिनियरिङ र पाइलट पढाउन प्रतिव्यक्ति १० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष एक/एक जनालाई एमबीबीएस, इन्जिनियरिङ र पाइलट तथा महिलातर्फ मास्टर नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । ‘पालिकाभित्रै डाक्टर, पाइटल जन्माउन आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी एमबीबीएस, इन्जिनियरिङ र पाइलट पढाउने नीति ल्याएका छौं,’ उनले भने, ‘हरेक प्रतिव्यक्तिलाई १० लाख छात्रवृत्ति दिनेछौं । पढाइ सकेपछि पालिकामा केही वर्ष सेवा गर्नुपर्ने मापदण्ड पनि बनाउने छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ