ललितपुर–ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले आफ्नो छुट्टै रक्तसञ्चार सेवा केन्द्र स्थापना गरेको छ । शुक्रबार रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले गरेका हुन् ।
रक्त सञ्चार सेवा केन्द्रको उद्घाटनसँगै अस्पतालले प्रकाशित गर्न थालेको नयाँ समाचार पत्रिकाको पनि विमोचन गरेका छन् । रक्त संचार सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार हस्पिटलले एउटा नमुना काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
उनले रक्त सञ्चार केन्द्रको स्थापनाले अस्पतालमा उपचाररत बिरामीहरूलाई मात्र नभई टाढाबाट आउने अन्य बिरामीहरूलाई पनि सहज हुने विश्वास लिएको बताए । साथै, रगतको अभावमा उपचारका लागि हुने समस्या समाधान भई उपचार प्रक्रिया सरल र छिटो बनाउन मद्दत पुर्याउने उनको भनाइ थियो ।
‘यो केन्द्रले अस्पतालको गुणस्तरमा उल्लेखनीय वृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ‘अब बिरामीहरूले रगत प्राप्त गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुनेछ । यसले स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउनेछ ।’
नेपालमा रक्तदानको स्थिति चुनौतीपूर्ण रहेको बताउँदै देशभरका अस्पतालहरूमा रगतको अभावले गर्दा बिरामीहरूलाई उपचारमा समस्या हुने गरेको बताए । रक्तदानका लागि नियमित रक्तदान शिविरहरू आयोजना गर्नुपर्ने सामाजिक सञ्जाल र मिडियाको माध्यमबाट जनचेतना फैलाउनुका साथै विद्यालय तथा कलेजहरूमा रक्तदान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनले औल्याए ।