२०८१ असार २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजिल्ला अस्पताल भवन निर्माण र बयलपाटा अस्पताललाई बजेट व्यवस्था गर्न माग गर्दै एमाले नेताहरु बालुवाटारमा

जिल्ला अस्पताल भवन निर्माण र बयलपाटा अस्पताललाई बजेट व्यवस्था गर्न माग गर्दै एमाले नेताहरु बालुवाटारमा


काठमाडौं—एमाले अछामका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जिल्ला अस्पताल मंगलसेनको भवन पुनःर्निर्माण र बयलपाटा अस्पतालका लागि बजेट माग गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमाले नेताहरुले जिल्ला अस्पतालको पुनःनिर्माण र बयलपाटा अस्पताल संचालनका लागि आवश्यक बजेट सुनिश्चितासहितको माग लिएर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

डेलिगेसनमा पुगेमा एमाले नेताहरुसँग प्रधानमन्त्री दाहालले आफूले सक्दो कोशिस गर्ने आश्वासन दिएको एमाले निकट स्वास्थ्यकर्मी महासंघका सचिव सिद्धप्रसाद ढुंगानाले जानकारी दिए । ‘हामीले जिल्ला अस्पतालको भवन निर्माण र बयलपाटा अस्पताल संचालनमा बजेटका लागि आग्रह गर्‍यौं,’ उनले भने, ‘प्रधानमन्त्रीले सक्दो कोशिश गर्ने आश्वासन दिनुभएको छ ।’

अछाम जिल्ला अस्पतालको भवन वि.सं. २०७९÷८० बजेटमा समावेस भएको थियो । त्यसपछि डिपीआर बनेपनि पर्याप्त बजेट नहुँदा अस्पताल भवन निर्माणको काम अगाडि बढन सकेको छैन । ‘आर्थिक वर्ष २०७९—८० देखि योजना प्रस्तावित हुँदैं आएको तर कार्यन्वयन हुन नसकेको अछाम जिल्ला अस्पतालको भवन जीर्ण अवस्थामा छ,’ एमाले नेताहरुले प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा भनिएको छ, ‘तत्काल पुनःनिर्माण नभएमा अछामी जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने भएकाले बजेट सुनिश्चितता गरिदिन अनुरोध गर्दछौं ।’

यस्तै, अघिल्लो आर्थिक वर्षदेखि बजेट अभावमा कारण संचालनमा कठिनाई भोगिरहेको बयलपाटा अस्पताललाई पनि आवश्यक बजेटको व्यवस्था गर्न एमाले नेताहरुले माग गरेका छन् । उनीहरुले देशकै एकमात्रै निःशुल्क र गुणस्तरीय सेवा प्रदान गर्ने बयलपाटा अस्पताल बजेट अभावका कारण बन्द हुन लागेको भन्दैं संघीय सरकारबाट १० करोड रुपैयाँ बजेट व्यवस्थापन नर्ग माग गरेका छन् ।

‘बयलपाटा अस्पतालबाट सुदुरपश्चिम र कर्णाली प्रदेशका लाखौं जनता लाभान्वित भइरहेका छन् । यो अस्पताल स्थापना कालदेखि समुदाय र दातृ निकायको सहयोगबाट सञ्चालन भइरहेकोमा हाल उक्त सहयोग बन्द भइसकेको कारण आर्थिक संकटले ग्रुजिरहेको छ,’ प्रधानमन्त्रीलाई बुझाइएको मागपत्रमा छ, ‘अतः वर्षौदेखि सेवा दिदैं आइरहेको बयलपाटा अस्पतालका लागि संघीय सरकारबाट रु. १० करोड बजेट बिनियोजन गरिदिनुहुन अनुरोध गर्दछौं ।’

यसअघि बयलपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले बजेट बिनियोजन गर्दै आएकोमा गत आर्थिक वर्षदेखि उक्त बजेट बिनियोजन भएको छैन । जसका कारण गत वर्षदेखि नै अस्पतालले आर्थिक अभाव झेलिरहेको थियो । यस वर्षपनि सुदूरपश्चिम सरकारले बयलपाटा अस्पतालका आवश्यक बजेट विनियोजन नगरेपछि अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पतालले बाजुरा, अछाम, कालिकोट, डोटीलगायतका जिल्लाका नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ