२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुलत छुटाउने नाममा ब्रान्ड बेगरको औषधी बेच्दै चित्ररेखा आयुर्वेदिक, नियांमक निकाय डिडिए मौन

कुलत छुटाउने नाममा ब्रान्ड बेगरको औषधी बेच्दै चित्ररेखा आयुर्वेदिक, नियांमक निकाय डिडिए मौन

मदिरा छुटाउने आयुर्वेदिक औषधी सेवन गर्दा थला परे ५७ वर्षे भिक्ना ऋषिदेव


विराटनगर–मोरङ रतुवामाई नगरपालिका–४ पैयामारीका ५७ वर्षीय भिक्ना ऋषिदेव वर्षौदेखि मदिरा सेवन गर्दै आएका थिए । मदिरा छोडनको लागि आयुर्वेदिक औषधी पाइने उनका साथीहरुले सुनाए ।

त्यही भएर स्थानीय मनोजकुमार शर्माले उर्लावारी नगरपालिका– ६ स्थित चित्ररेखा आयुर्वेदिक औषधी पसलबाट मदिरा छुटाउने नामको औषधी विक्री वितरण गर्ने गरेको जानकारी पाए । केही दिन अगाडि उनले कुलत छुटाउने भन्दै दश पोका ब्रान्ड बेगरको औषधी ६ सय रुपैयाँमा खरिद गरेर लगे । चित्ररेखा आयुर्वेदिक पसलले लेबलिङ र ब्रान्ड बेगरको आयुर्वेदिक औषधी ऋषिदेवले सेवन गरेपछि अहिले बिरामी परेका छन् ।

चित्ररेखा आयुर्वेदिक पसलबाट किनेको ब्रान्ड र लेबलिङ बिनाको मदिरा छुटाउने नाममा आयुर्वेदिक ओषधी सेवन गरेको कारण उनी महिना दिनदेखि घरमा थला परेका छन् । ‘बुवाले वर्षौदेखि मदिरा सेवन गर्दै आउनुभएको थियो । मदिरा छुटाउन आयुर्वेद औषधी खानुभएको थियो । अहिले बुवा थला पर्नुभएको छ । सुरुमा औषधीले साइट इफेक्ट देखाउँछ भन्यो । तर, निको भएन,’ छोरा रन्जित ऋषिदेवले भने, ‘औषधी पसलले भिटामिन खुवाउनु भन्यो । त्यसपछि ठिक भएन । बिरामी सिकिस्त भएपछि रंगेली अस्पतालमा उपचार गरेर अहिले घर ल्याएको छ ।’ अहिले पनि राम्रोसँग खानपिन नगरेको छोरा रन्जितले बताए ।

‘पहिला राम्रो थिए । मदिरा छुटाउने नाममा आयुर्वेदिक औषधी खादा थला परे । यो आयुर्वेदिक औषधी खाएपछि वान्ता आयो । छाती दुख्यो । १५ दिन खाना खाइन्,’ भिक्ना ऋषिदेवले भने, ‘उपचार ६० हजार सकियो । अझै ठिक भएको छैन ।’

थप उपचारको लागि उनले स्थानीय र सरोकारवालाहरुसँग सहयोगका लागि आग्रह गरेका छन् । ‘भएको पैसा पनि सकियो । थप उपचार गर्ने पैसा नभएपछि घरमा बुवालाई ल्याएको छु,’ छोरा रन्जितले थपे, ‘बुवाको उपचारको लागि सबैसँग आग्रह गरेको छु ।’ आर्थिक अभावको कारण बुवालाई घरमा ल्याएको उनले सुनाए ।

आयुर्वेदिक चिकित्सक डा. रवीन्द्र निरौलाले रजिष्टर्ड नभएको आयुर्वेद औषधी सेवनले स्वास्थ्यमा प्रतिकुल असर पर्ने बताए । ‘अहिले कुलत छुटाउने नाममा दर्ता बेगारको औषधी विक्री वितरण हुने गरेको छ । यसको नियमन गर्न जरुरी छ । जथाभावी विक्री हुने यस्तो औषधीले स्वास्थ्यमा असर पु¥याउँछ,’ स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सूचना अधिकारीसमेत रहेका डा. निरौलाले भने, ‘औषधी व्यवस्था विभागमा दर्ता भएको औषधी मात्र बिक्री वितरण र बिरामीले सेवन गर्नपर्दछ ।’

यसरी ब्राण्ड बेगरको आयुर्वेद पसलले खुल्लेआम बिक्री वितरण गर्दा पनि नियांमक निकाय औषधी व्यवस्था विभाग विराटनगर छ । उजुरी परेको खण्डमा अनुगमन गर्ने भन्दै अहिले विभागका कर्मचारीहरु पन्छिने गरेका छन् । ‘अहिलेसम्म बिरामी हामीसँग सम्पर्कमा आएका छैनन् । उजुरी परेपछि मात्रै हामी अनुगमन गर्नेछौं,’ औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले भने ।

सूचना अधिकारी खड्काले उजुरी परेको खण्डमा मात्रै अनुगमन गर्ने भनिरहँदा औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख निकेश श्रेष्ठले भने ब्राण्ड र लेबलिङ बेगरको औषधी बिक्री वितरण गर्न नपाइने बताए । ‘यसरी बिक्री वितरण भएको पाइए कारवाहीको दायारमा ल्याउनेछौं,’ उनले भने, ‘औषधी व्यवस्था विभागमा दर्ता भएको मात्रै औषधी बिक्री वितरण गरिनु पर्दछ । यसरी औषधीको अनुचित बिक्री वितरण भए त्यसको नियमन गरी कारवाहीको दायरामा ल्याउनेछौं ।’

चित्ररेखा आयुर्वेदिक औषधी पसलका संचालक विष्णु कार्कीले भारतीय ब्राण्डको आयुर्वेद औषधी विक्री वितरण गरिदिएको दाबी गरे । उनले यसरी दाबी गर्दा बिक्री गरेको आयुर्वेद औषधीको कम्पनीको नाम भने बताउन सकेनन् । ‘३० वटा प्याकेटको डिब्बामा त्यो औषधी आउने गर्दछ । उहाँहरुले १० पिस मात्र लानुभयो । त्यही भएर त्यसमा औषधीको नाम नदेखिएको हो,’ उनले भने । चित्ररेखा आयुर्वेदिक पसलले कुलत छुटाउने भन्दै ३० वटा प्याकेटको औषधी १२ सय ५० रुपैयाँ खरिद गरेर २ हजार रुपैयाँसम्म बिक्री वितरण गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ