२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुको बाम गाउँमा निर्माणाधीन वर्थिङ सेन्टरको भवन चार वर्षदेखि अलपत्र

मुगुको बाम गाउँमा निर्माणाधीन वर्थिङ सेन्टरको भवन चार वर्षदेखि अलपत्र


जुम्ला—छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा निर्माणाधीन वर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत बजेट विनियोजित भई जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत निर्माण सुरु गरिएको वर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र परेको हो ।

भवन निर्माणको काम चार वर्षदेखि अलपत्र अवस्थामा रहेको स्थानीवासी धन बडुवालले बताए । वर्थिङ सेन्टर भवन निर्माण गर्ने भनी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको बजेट जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत ०७७ जेठ २० गते सम्झौता भई ०७७ असार २५ गते आयोजना सम्पन्न गर्ने गरी कार्यालय र उपभोक्ता समितिबीच सम्झौता भएको भएपनि भवन बजेट अभावमा अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष गोरबहादुर बडुवालले जानकारी दिए ।

असार मसान्तको अन्तिममा छोटो समयमा आएको बजेट र भएको सम्झौताले न वर्थिङ सेन्टर बन्योे न त कामदारले ज्याला पाए । २० लाख रुपैयाँमा भवन निर्माण गर्ने सम्झौता भएको भएपनि बजेट अभावमा वर्थिङ सेन्टर भवनको पहिलो एक किस्ता पेस्की स्वरूप ४ लाख रुपैयाँ मात्रै पाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बडुवालले बताए ।

उनकाअनुसार भवन निर्माणका लागि असार मसान्तको अन्तिममा बजेट आयो जग्गा विवादमै समय गएकाले भवन पूरा गर्न सकिएन पुनः बजेट आउने आशामा काम गरेको भएपनि ४ वर्ष बितिसक्दा पनि बजेट निकासा नहुँदा समस्या भएको हो । बजेट अभावले वर्थिङ सेन्टर भवन ४ वर्षदेखि अलपत्र अवस्थामा छ ।

भवनको जग र पिलर मात्रै उठाइएका छन् । २०७७ सालमा निर्माण थालिएको वर्थिङ सेन्टर भवनको निर्माणमा कामदारले ४० दिनसम्म काम गरेका छन् । तर, कामदारले ज्यालासमेत पाएका छैनन् । घर खर्च चलाउन र बालबालिकाको पढाइ खर्चको जोहो गर्न काम गरेका भएपनि ४० दिनसम्मको ज्याला नपाएको कामदार रन्नसिह बडुवालले बताए । चार वर्षसम्म भवन निर्माण नहुँदा बाम गाउँमा महिलाहरू लामो समयको यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने स्थानीय महिला लालसरा बुढाले बताइन् । वर्थिङ सेन्टर नबनेर महिलाहरुलाई धेरै समस्या भइरहेको स्थानीय महिला धनदेवी खडकाले गुनासो गरिन् ।

आर्थिक वर्षको अन्तिममा आएको बजेटले काम सम्पन्न गर्न कठिन भएको देखिन्छ । तर, पछि निर्माण सम्पन्नका लागि बजेट मागका लागि मन्त्रालयमा धाउँदा सुनुवाई नभएको छायानाथ रारा नगरपालिकाका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताए ।

यता जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डा. निर्मल नगरकोटीकाअनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट असार मसान्तको अन्तिमतिर नाम तोकेरै छायाँनाथ राराको लागि बर्थिङ सेन्टर र खत्याड गाउँपािलकामा पनि वर्थिङ सेन्टर भवन निर्माणका लागि बजेट आएको थियो ।

त्यसैअनुरूप सम्झौता भई काम अगाडि बढे पनि काम समयमै सम्पन्न नभएकाले बजेट फ्रिज गएको उनले बताए । यसका बारेमा पुनः एकपटक सम्बन्धित मन्त्रालयमा कुरा राख्ने र सुनुवाई भए यसै आर्थिक वर्षमा अधुरो भवनलाई पूर्णता दिने डा. नगरकोटीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ