२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पतालमा जटिल र हाइड्रोशिलको शल्यक्रिया गर्न २ वर्षसम्म पालो कुर्नुपर्ने

कान्ति बाल अस्पतालमा जटिल र हाइड्रोशिलको शल्यक्रिया गर्न २ वर्षसम्म पालो कुर्नुपर्ने

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिसका लागि करिब ७०० बिरामी प्रतीक्षारत


काठमाडौं—सरकारी अस्पतालहरुमा स्रोत—साधनको अभावका कारण शल्यक्रियाका लागि महिनौं पालो कुर्नुपर्ने बाध्यता नयाँ होइन् । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा सरकारी अस्पतालमा बिरामी सेवा लिन कुनुपर्ने लामो समय चित्रित गरिएको छ ।

प्रतिवेदनको ४८ औं बुँदामा अस्पतालहरुको सेवा प्रवाहबारेमा उल्लेख छ । जसमा कान्ति बाल अस्पतालमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पाला पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ प्रतिवेदनमा छ ।

बिरामीको चाप उच्च रहेको मुलुकको प्रमुख अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि १ हप्तादेखि रोगको प्रकृति बमोजिम १ वर्षसम्म उपचारका लागि कुर्नुपर्ने अवस्था छ । यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि रोगको प्रकृतिअनुसार ४ देखि १२ हप्तासम्म, हेमोडायलाइसिसका लागि ४—५ महिना, इन्डोस्कोपीका लागि एक हप्तासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा औल्याइएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न ४५ दिनसम्म प्रतीक्षा गर्नुपर्ने, क्यान्सर रोगका लागि अति आवश्यक पेट स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिका रोगको उपचार पाउन नसकेको उल्लेख छ ।

यसैगरी, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिसका लागि करिब ७०० बिरामी प्रतीक्षारत रहेको र बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो पर्खिनुपर्ने अवस्था रहेको प्रतिवेदनमा छ ।

‘अस्पतालहरुले बिरामीलाई सर्वसुभल तथा छिटो सेवा प्रदान गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ