२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’

प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’


निजगढ–निजगढ नगरपालिकाले स्थानीय महिलाहरुको प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखेर सुरु गरेको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रम परिणाममुखी बन्दै गएको पाइएको छ ।

पालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ देखि २०८० सम्म १ हजार ८ सय बढी महिला यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

पालिकाले महिला प्रजनन प्रवर्द्धन कार्यक्रममार्फत एक दर्जन बढी स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउँदैं आएको छ । नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गका अनुसार महिलामा हुने प्रजनन समस्या स्थानीय तहमै पत्ता लगाएर उपचार गर्नका लागि यो कार्यक्रम चलाइएको हो ।

उनका अनुसार रोग पत्ता लागेर स्थानीयस्तरमा उपचार हुन नसक्ने अवस्थामा नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र काठमाडौं पठाइने गरेको छ । जसको उपचार खर्च पालिकाले नै व्यवस्था गरिदिने गरेको छ ।

‘हामीले यो कार्यक्रम २०७७ मा सुरु गरेका थियौं । यसलाई नियमितता दिदै आएका छौं,’ उनले भनिन्, ‘वर्षेनी १० लाख बजेट छुट्याएर विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य संस्था र शिविरमार्फत यो सेवा प्रदान गर्दै आएका छौं ।’

उनका अनुसार यो कार्यक्रमबाट बढीजसो एकल, सीमान्तकृत, दलित र जनजाति महिला लाभान्वित भएका छन् ।

उप–प्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रमकी संयोजक रामप्यारी तिमल्सिनाका अनुसार कार्यक्रमअन्र्तगत नियमित पाठेघरको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, बाझोपन, सेतोपानी बग्ने समस्यालगायतका महिला प्रजनन् स्वास्थ्यसँग सम्बन्धित एक दर्जन बढी रोगहरुको परीक्षण तथा उपचार पालिकाले निःशुल्क गरिदिने गरेको छ । ‘आवश्यक परेमा शल्यक्रिया भिडियो एक्सरे, प्रयोगशाला परीक्षण र औषधी पनि निःशुल्क उपलब्ध गराउँदैं आएको छ’ उनले भनिन् ।

उप–प्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्द्धन कार्यक्रमअन्र्तगत नियमित रुपमा बिरामीको स्वास्थ्य परीक्षणको नेतृत्व गरिरहेकी नारायण अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मञ्जु रायका अनुसार सानैदेखि विभिन्न जोखिमका कारणहरुले महिला प्रजनन् स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने गरेको बताइन् ।

यस क्षेत्रमा महिलाको पाठेघर खस्ने समस्या पनि विकराल रहेको उनको भनाइ थियो । ‘महिलाहरु आफ्नो स्वास्थ्य समस्याका बारेमा डाक्टर तथा श्रीमानसँग खुलेर कुरा गर्न लजाउँछन्,’ उनी भन्छिन्,’ जसका कारण धेरै बिरामीहरु समयमा स्वास्थ्य संस्थामा पुग्दैनन्, त्यो बेला रोगको अवस्था जटिल भइसकेको हुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ