२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण

नेपाल मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण


काठमाडौं—भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा ३५ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । मंगलबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना एक वर्षमा २३ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको हो ।

अस्पतालले वि.सं. २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा १७ वर्षका युवादेखि ६५ वर्षका वृद्धसम्म रहेको अस्प्तालले जनाएका छ ।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासुले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गौला दिएका छन् । मिर्गौला दान गर्नेहरुमा १८ वर्षको दातादेखि ६५ वर्षसम्मका दाताहरु रहेको अस्पतालले जनाएको छ ।

दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् । जसमा बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडाजस्ता ठाउँहरुबाट आएका बिरामीहरुमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

‘२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ,’ डा. पौडेलले भने ।

प्रत्यारोपणका लागि आउनेमा विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढी रहेको अस्पतालको भनाइ छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । मिर्गौला प्रत्यारोपण गरिएका पाँच जना व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् । निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मिर्गौलाको समस्या बढी देखिएको डा. पौडेलले बताए ।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । । नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए । ‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाइ पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा. काफ्लेले भने । मिर्गौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

तर, प्रत्यारोपणका तुलनामा बिरामी धेरै भएकाले प्रत्यारोपणका लागि निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मेडिसिटी अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको जनाएको छ । अस्पतालमा हालसम्म १५० भन्दा बढी बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएकामध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङदेखि अप्रेसन गर्ने गरिएको अस्पतालले जनाएको छ ।

नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करिब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मिर्गौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलाइसिसका लागि थपिने गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ