२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारव्यापारीको स्वार्थमा पूर्वमन्त्री बस्नेतले गरे ब्याक डेटमा स्टोर किपरहरूको सरुवा

व्यापारीको स्वार्थमा पूर्वमन्त्री बस्नेतले गरे ब्याक डेटमा स्टोर किपरहरूको सरुवा


काठमाडौं—निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यापारीको स्वार्थमा ब्याक डेटमा स्वास्थ्यका दुई जना स्टोर किपरहरुको सरुवा गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार बस्नेतले गाउँका व्यापारी रामकुमार थापाको स्वार्थमा कान्तिबाट ब्याक डेटमा कृष्णप्रसाद जैशीलाई विभाग लगेका हुन् ।

उनको ठाउँमा विभागको स्टोरमा रहेका केशव काफ्लेलाई कान्ति पठाएका छन् ।

कान्तिबाट जैशीलाई विभागमा लैजानका लागि व्यापारी थापाले स्वास्थ्य मन्त्रालयमा उपसचिव कृष्ण थापालाई प्रयोग गरेका हुन् । तीन महिनाअघि मात्रै कान्ति बाल अस्पताल सरुवा भएका उनलाई विभाग लैजान उपसचिव थापाले दुई महिनाअघि नै फाइल तयार गरेका थिए ।

व्यापारी रामकुमारले उपसचिव थापामार्फत फाइल तयार गरेर सरुवाका लागि बस्नेतसँग सल्लाह गरेका थिए । तर, प्रशासनका तत्कालीन सहसचिव तुलसीनाथ गौतमले भर्खरै सरुवा भएर गएको व्यक्तिलाई पुनः सरुवा गर्दा सन्देश नराम्रो जाने भन्दैं उक्त फाइल रोकिदिएका थिए ।

सहसचिव गौतमको सरुवा भएपछि उपसचिव थापाले पुनः उक्त सरुवाको फाइल अगाडि बढाउने गृहकार्य गरेका थिए । तर, लगतै पुरानो गठबन्धन भत्केर नयाँ सरकार बनेपछि २१ फागुनमा अघिल्लो दिनको मिति राखेर उनले जैशीलाई विभाग सरुवा गरेका हुन् ।

स्रोतकाअनुसार कान्तिको स्टोरमा रहेका जैशीले त्यहाँ विवादित बनेपछि प्रशासनमा ल्याइएको थियो । ‘स्टोरमा कामभन्दा बढी बार्गेनिङ गर्ने र काम रोक्ने गरेपछि प्रशासनमा सरुवा भएको थियो,’ कान्ति स्रोतले भन्यो, ‘प्रशासनमा हाजिर नभएर डेढ महिनासम्म अतोपत्तो नै थिएन । अचानक एकै चोटी सरुवा भएर रमाना लिन अस्पताल पुगे ।’ तर, अस्पतालले बरबुझारथ नगरी रमाना दिन नमिल्ने भनेर रोकिदिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ