२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअर्थ मन्त्रालयको आलटालले बाल क्यान्सरका ३५ प्रकारका निःशुल्क औषधि आउनेमा अनिश्चितता

अर्थ मन्त्रालयको आलटालले बाल क्यान्सरका ३५ प्रकारका निःशुल्क औषधि आउनेमा अनिश्चितता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा दाताले दिने भनिएको बालबालिकाको क्यान्सर विरुद्धका ३५ प्रकारका औषधि आउने अनिश्चित भएको छ । अर्थ मन्त्रालयले औषधि नेपाल ल्याउनका लागि भन्सार शुल्क छुट सम्बन्धि निर्णय नगरिदिँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले तीन पटक सो बाटो खुलाउन पत्रचार गरेतापनि अर्थ मन्त्रालयले बाटो नखोलिदिएका कारण औषधि ल्याउने प्रक्रिया अगाडि बढ्न नसकेको मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘पटक—पटक तागेता गर्दा पनि अर्थले वास्ता गरेको छैन्,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सबै बालबालिकालाई फाइदा हुने कुरामा पनि किन अड्काएको हो थाहा पाउन सकिएको छैन ।’

ग्लोबल इनिसिएटीभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य संगठन, युनिसेफ र सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सहमति भएको थियो ।

निःशुल्क औषधि उपलब्ध गराउने विषयमा अमेरिकामा जिआइसैसीले २०७९ चैत्र २९ र ३० चैतमा प्रिलञ्च मिटिङ राखेको थियो ।

नीति, योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेल सो औषधि आएपछि बाल क्यान्सरका बिरामीले अधिकांश औषधि निःशुल्कमा पाउने बताउँछन् । ‘दाताले हामीलाई चाहिने औषधि उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्,’ उनले भने, ‘क्यान्सर पीडित बालबालिकाको लागि ठूलो सहयोग हुन्छ । सो औषधि ल्याउन हाम्रो सरकारले सहजीकरण गर्नुपर्छ ।’

नेपालमा प्रत्येक वर्ष १ हजार ५ सय बढी बालबालिका क्यान्सर रोगबाट पीडित हुने गरेका छन् । जसमा रक्त क्यान्सरका बढी हुने गरेका छन् । रक्त क्यान्सरको बिरामी समयमै उपचार पाएमा अधिकांश निको हुने गरेको चिकित्सकहरु बताउँछन् ।

नेपालमा कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र केही निजी अस्पतालमा बालबालिकाको क्यान्सरको उपचार हुने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ