२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश अस्पतालमा तीन वर्षमा ४ लाख बढीले लिए सेवा

प्रदेश अस्पतालमा तीन वर्षमा ४ लाख बढीले लिए सेवा


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालमा तीन वर्षमा ४ लाख बढीले स्वास्थ्य सेवा लिएका छन् । तीन आर्थिक वर्षभित्र ४ लाख १६ हजार तीन सय ३७ जना बिरामीले सेवा लिएका हुन् ।

जसमा ३ लाख ६९ हजार ६ सय १७ जनाले ओपीडी सेवा लिएका छन् भने ४६ हजार ७ सय २० जना बिरामीले अस्पतालबाट इमर्जेन्सी सेवा लिएका हुन् । तथ्यांकअनुसार सेवा लिने बिरामीको संख्या हरेक वर्ष दोब्बरले बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल ५३ हजार १ सय ८३ जनाले ओपीडी सेवा लिएकोमा आर्थिक वर्ष ०७८/०७९ मा दोब्बर बढीले बढेर सेवा लिनेको संख्या १ लाख २४ हजार चार सय ६८ पुगेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७९/०८० मा एक लाख ९१ हजार नौ सय ६६ जना बिरामीले अस्पतालबाट ओपिडि सेवा लिएका छन् ।

यता इमर्जेन्सी सेवा लिने बिरामीमध्ये आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार नौ सय २३ जना, आर्थिक वर्ष २०७८÷०७९ मा १६ हजार ६ सय २० र आर्थिक वर्ष २०७९÷०८० मा २१ हजार एक सय ७७ जना रहेको अस्पतालले जनाएको छ ।

बिरामीको बढ्दो चापलाई मध्यनजर गरी हाल ३ सय शैयाको प्रदेश अस्पताललाई ५ सय शैय्यामा स्तरवृद्धि गर्ने काम भइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । ५ सय शैय्याको अस्पताल सञ्चालनका लागि हाल भवन निर्माणको काम तीब्र गतिमा भइरहेको उनले जानकारी दिए ।

दैनिक अस्पतालमा ६ सय बढी बिरामी उपचारका लागि आउने गर्दछन् । सेवा लिने बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको हो ।

पछिल्लो समय अस्पतालले पनि भौतिक पूर्वाधारमा फड्को मार्दै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ