२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरोपकार प्रसुती गृहको नयाँ साढे पाँच तलाको अत्याधुनिक भवन उद्घाटन

परोपकार प्रसुती गृहको नयाँ साढे पाँच तलाको अत्याधुनिक भवन उद्घाटन

नयाँ भवनबाट विस्तारित सेवा प्रवाह तथा अध्ययन अनुसन्धान कार्य हुने


काठमाडौं–देशको एकमात्र विशिष्टीकृत प्रसुती तथा स्त्रीरोग अस्पतालले आफ्नो सेवा विस्तार तथा अध्ययन अनुसन्धानका लागि अत्याधुनिक भवन निर्माण सम्पन्न गरेको छ । बुधबार ललितपुरको कुपण्डोलमा निर्मित सो भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार सो भवन निर्माण नेपाल सरकारको ४३ करोड ७९ लाख ६७ हजार ५ सय ८७ रुपैयाँमा सम्पन्न भएको छ । चार वर्ष लगाएर निर्माण गरिएको सो भवन अण्डरग्राउण्ड पार्किङ र साढे ५ तला रहेका छन् ।

निर्देशक अधिकारीका अनुसार भवनको तल्लो तलामा रिसेप्सन, ओपीडी, फार्मेसी र प्रयोगशाला रहनेछन् । पहिलो तलामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, माइनर शल्यक्रिया कक्ष, रिकभरी कक्ष र जनरल वार्ड रहनेछन् ।

त्यसैगरी, दोस्रो तलामा ४ वटा तालिम कक्ष र अध्ययन अध्यापन कक्ष रहनेछ । चौथो र पाँचौ तलमा रहेका ४२ बटा कोठमा १ सय २० जना विद्यार्थी बस्ने गरीको छात्रावास तयार गरिएको छ । सबैभन्दा माथिको पाँचौ तलामा भने भान्सा रहेको छ ।

डा. अधिकारीले नर्सिङ विद्यार्थी मात्र नभएर काठमाडौं बाहिरबाट तालिमका लागि आउने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई सो अवधिभर छात्रावासको रुपमा प्रायोग गर्न सक्ने प्रायोजनले भवन निर्माण गरिएको बताए ।

परोपकार अस्पतालमा हाल ४ सय ९८ शैय्याबाट स्त्री तथा प्रसुती रोग सम्बन्धी सेवा प्रवाह भइरहेको छ । त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत २० जना मिडबाइफ्रि, २० जना बिएस्सी नर्सिङ पढाइ संचालनमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ