२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनक्कली डाक्टर सम्बुद्ध पक्राउ, बिरामीलाई ‘डा. एस. भट्ट आचार्य’ भनेर चिनाउँथे

नक्कली डाक्टर सम्बुद्ध पक्राउ, बिरामीलाई ‘डा. एस. भट्ट आचार्य’ भनेर चिनाउँथे


काठमाडौं—नक्कली डाक्टर बनेर बिरामीमा उपचार संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले आइतबार साँझ नक्कली डाक्टर बनेर बिरामीको उपचारमा संलग्न सम्बुद्ध भट्टाचार्यलाई बसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो ।

विराटनगर—२ स्थायी घर भएर काठमाडौंको बाँसबारीमा बस्दैं आएका ४० वर्षीय सम्बुद्ध आफूलाई डा. एस भट्ट आचार्यका रुपमा चिनाउथे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी रवीन्द्र रेग्मीकाअनुसार उनले नक्सालस्थित वी केयर र धौलागिरी हिमाल पोलिक्लिनिकमा बिरामीलाई उपचार गर्दै आएका थिए । उनले वी केयरमा ६ सय ३० जना र धौलागिरीमा ३० जनाभन्दा बढीको उपचार गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट लिइने दर्ता नम्बर पनि उनले अरुकै प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सम्बुद्धबाट प्रहरीले नेपाल चिकित्सक संघको आजीवन सदस्यता पत्र, त्रिवि शिक्षण अस्पतालको परिचय पत्र दुई वटा र नेपाल मेडिकल काउन्सिलको एक रजिष्ट्रेशन कार्ड पनि प्रहरीले बरामद गरेको छ ।

यसबाहेक प्रहरीले उनीबाट इन्डाक्राइनो सोसाइटी, नेपाल मेडिसिटी हस्पिटलको सम्मान पत्रलगायतका अरु थुप्रै नक्कली कागजातहरु पनि फेला पारेको छ ।

उनले बिरामीलाई विश्वासमा पार्न त्रिवि शिक्षण अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वद्ध भनेर लेखिएको भिजिटिङ कार्ड समेत प्रयोग गर्ने गरेका थिए । प्रहरीकाअनुसार उनले विपीबाट एमडी गरेको नक्कली प्रमाणपत्र समेत बनाएको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ