२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापनाबारे दुई दिने विशेष कार्यशाला हुँदै

आँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापनाबारे दुई दिने विशेष कार्यशाला हुँदै


काठमाडौं—तिलगंगा आँखा प्रतिष्ठानले आँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापनाबारे दुई दिने विशेष कार्यशाला गर्ने भएको छ । बिहीबार र शुक्रबार हुने उक्त कार्यशालामा अर्बिटल फ्याक्चर पुनःस्थापनाबारे विभिन्न कार्यशाला संचालन हुनेछ ।

कार्यक्रममा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र म्याक्सिलोफेसियल सर्जनहरू गरी करिब १०० जना सहभागी रहने तिलगंगाकी ओकुलोप्लास्टिक, अर्बिट एण्ड अकुलर अंकोलोजी विभागकी प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले जानकारी दिइन् ।

नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. राजकर्णिकार स्थापित, म्याग्जीलोफेसियल सर्जन प्रा.डा. आलोक सग्तानी, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा. डा. रोहित सैजुको टोलीले पहिलो पटक आयोजना हुँदै गरेको अर्बिटल फ्याक्चर पुनःस्थापना कार्यशाला सञ्चालन गर्नेछन् ।

ओस्टियोपोर र टाइटेनियम प्लेटहरूजस्ता विभिन्न सामग्रीहरू प्रयोग गरेर फ्याक्चर पुनःस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण भई त्यसका छलफल हुनु नै कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

पहिलो दिन बिहीबार नै सर्जिकल कार्यशाला समापन भएपछि अर्बिटल ट्रमाका चुनौतीपूर्ण केसहरूमा निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुनेछ, जहाँ शल्यचिकित्सकहरूले उत्तम सम्भावित व्यवस्थापनको बारेमा छलफलको लागि जटिल केसहरुमा छलफल गरिनेछ ।

शुक्रबार कार्यक्रमको दोस्रो दिन आँखामा थाइराइड रोगले पार्ने असरहरुबारे चुनौतीपूर्ण केसहरूमा छलफल हुने कार्यशाला आयोजना हुनेछ । पछिल्लो समयमा थाइराइडको समस्या भएका मानिसहरु बढ्दै गएको र यसले आँखा स्वास्थ्यमा पनि प्रभाव पारिरहेको विशेषज्ञहरुको अनुभव छ । यस सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुनेछन् । यस सत्रमा पनि नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. राजकर्णिकार स्थापित, हर्मोन रोग विशेषज्ञ डा. अलार्क देवकोटा रजौरिया, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा. डा. रोहित सैजुको टोलीले विशेषज्ञ वक्ताका रुपमा आफ्ना अनुभवहरु साट्नेछ ।

डा. गंगाधर सुन्दरको नेतृत्वमा आयोजना हुँदै गरेको २ दिने सर्जिकल प्रदर्शनसहितको कार्यशालाले फ्याक्चर पुनःस्थापनामा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने अपेक्षा आयोजकको छ । यस विषयमा पहिलो पटक आयोजना हुँदै गरेको प्रत्यक्ष सर्जिकल कार्यशाला सर्जनहरूको सीप र ज्ञान बढाउने कार्यक्रम भएको हुँदा सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको डा. राजकर्णिकार स्थापितले बताइन् ।
आँखाको विभिन्न विधाको उपचारमा विगत ३ दशकदेखि तिलगंगा आँखा प्रतिष्ठान क्रियाशील रहँदै आएको छ । उपचारका साथै उच्चस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गरिरहेको प्रतिष्ठानले नेत्र विज्ञानमा अनुसन्धानलाई गुणस्तरीय र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पछिल्लो समय सडक तथा अन्य दुर्घटनाका कारणले गर्दा आँखामा लाग्ने चोट र असरहरुका विषयमा सबैको ध्यान गएको छ । ती मध्ये, आँखा वरपरको हड्डी भाँचिएको पुनःस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया हो । प्रत्येक वर्ष तिलगंगा आँखा प्रतिष्ठानमा करिब ५०० बिरामीहरु आँखा चोटका कारण आउने गरेका छन् जसमध्ये ५० प्रतिशतभन्दा बढीलाई शल्यक्रिया आवश्यक हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ