२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुस्वास्थ हस्पिटल नवौं वर्षमा प्रवेश, नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता

सुस्वास्थ हस्पिटल नवौं वर्षमा प्रवेश, नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता


काठमाडौं—नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापना भएको सुस्वास्थ हस्पिटलले स्थापनाको आठ वर्ष पूरा गरेको छ । सोमबारबाट मीनभवनस्थित सुस्वास्थ अस्पताल नवौं वर्षमा प्रवेश गरेको हो ।

औषधिविहीन उपचार प‌द्धतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी बिरामीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्‌देश्यसहित १ माघ २०७२ बाट अस्पतालले सेवा शुभारम्भ गरेको थियो ।

अस्पतालले नसा तथा हाडजोर्नीका बिरामीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । ‘हामीले वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएका छौं,’ सुस्वास्थका अध्यक्ष सुदर्शन बस्नेतले भने, ‘अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् ।’ उनले नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त बताए ।

अस्पतालले बिरामीको उपचारका साथै बिरामी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरेको छ ।

सञ्चारमाध्यम, कलेज, स्कुल, बैंक तथा वितीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो। यसबाट २ सयभन्दा बढी कर्मचारी लाभान्वित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनकाअनुसार सुस्वास्थ हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसबाट ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

स्वास्थ्य जनचेतना अभियानअन्तर्गत कम्मर र गर्दनको हेरचाह गर्ने र आफैं व्यवस्थापन गर्ने तरिका सिकाउने कार्य पनि हालसम्म १० स्थानमार्फत १५ सय जनालाई गरिसकेको छ । सुस्वास्थ हस्पिटल त्रिपुरेश्वरबाट वि.सं.२०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रूप हो।

आयुर्वेद विभागबाट १५ शैय्याको स्वीकृती लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको छ ।अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ