२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२० प्रकारका औषधिको उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

२० प्रकारका औषधिको उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडले औषधि २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै पछिल्लो समय त्यसमा देखिएको गत्यावरोध हल गर्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए ।

‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो । बीचमा चाहिँ अप डाउन भएको मैले बुझें,’ प्रधानमन्त्री दाहालले भने, ‘औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईहरूले काम सुरू गर्नुस्। सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु।’

दाहालले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्ने बताए । ‘देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो। सबै कुरा एकैपटक नहोला। तपाईंहरू काम सुरू गर्नुहोस्। मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु। यस क्षेत्रमा देखिने गरी काम गरौं,’ उनले थपे ।

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनहरूको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ