२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री

चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यक छ : स्वास्थ्यमन्त्री

'जागिरे मात्र भएर आयुर्वेदको विकास सम्भव छैन'


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यक रहेको बताएका छन् । सोमबार आयुर्वेद चिकित्सालय नरदेवीले राष्ट्रिय योग दिवसको अवसर पारेर आयोजना गरेको साताव्यापी आयुर्वेद तथा योग सम्बन्धी कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बस्नेतले चिकित्सा क्षेत्रका विद्यार्थीले स्वदेशमै पढ्न पाउन वातावरण बनाउन सरकार लागिरहेकोले बताए ।

उनले सरकारको यो प्रयासले केही दिनमै परिणाम दिने दावी गरे । उनले आयुर्वेद चिकित्सालयहरुमा पनि जनशक्ति अभाव भएको बताउँदै अत्यावश्यक जनशक्ति थप गर्न स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।

मन्त्री बस्नेतले आयुर्वेद अस्पतालहरुमा कार्यरत जनशक्तिले जागिरे मात्र भएर काम गरे आयुर्वेद क्षेत्रको विकास नहुने बताएका छन् । ‘आयुर्वेदको विकासका लागि जागिरे मनस्थिति होइन् । यसको विकास र विस्तारका लागि जागर निकाल्नुहोस् । अनुभव र इच्छाशक्ति भयो भने मात्र आयुर्वेदको विकास सम्भव छ,’ उनले भने ।

अनुभूति हुने गरी उपचार सेवा प्रवाह नगर्दासम्म आम समुदायमा आयुर्वेदप्रतिको विश्वास जाग्न नसकिने दावी गर्दै मन्त्री बस्नेतले सरकारले मात्र आयुर्वेदको विकास गर्न नसक्ने भएकाले यो क्षेत्रमा कार्यरत जनशक्ति लाग्नै पर्नेमा जोड दिए ।

कार्यक्रममा आयुर्वेद चिकित्सालय नरदेवीका कार्यकारी निर्देशक डा. श्यामबाबु यादवले ११८ शैयाबाट उपचार सेवा प्रदान गरिरहेको अस्पतालले निकट भविष्यमै २०० शैय्याको बनाउने योजनाअनुसार अगाडि बढिरहेको जानकारी दिए । डा.यादवले आफूले निर्देशकको जिम्मेवारी सम्हालेपछि ओपीडी सेवा विहान साढे ८ बजेदेखि गरेको, १५ शैय्याको जनरल शैय्या बढाएर २५ शैय्या बनाएको, भर्ना भएका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था गरेको र सेवा विस्तार गरेको दावी गरे । उनले निकट भविष्यमै नरदेवी अस्पतालमा आयुर्वेदको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालको नयाँ सिटी स्क्यान मेसिनको पनि उदघाटन गरेका थिए । उक्त सिटी स्क्यान मेसिन १ माघदेखि सञ्चालनमा आउने छ । कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायलगायत आयुर्वेद क्षेत्रका अधिकारीको सहभागिता थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ