२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअल्का अस्पतालका मालिकहरुको विवाद उच्च अदालत पाटनमा

अल्का अस्पतालका मालिकहरुको विवाद उच्च अदालत पाटनमा


काठमाडौं—अल्का अस्पताल मालिकहरुबीचको विवाद उच्च अदालत पाटन पुगेको छ । २७ मंसिरमा अल्का अस्पतालका अल्पमत सेयरधनी एस.एस.जी. इन्भेष्टमेन्ट (क्या. रामेश्वर थापाको कम्पनी)ले बहुमत सेयरधनी तिलक पुवार थापा (कुमार थापा) र उनकी श्रीमती विधा श्रेष्ठ थापा विरुद्ध अस्पतालको खाता रोक्कासहितको माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेका हुन् ।

हेल्थआवाजलाई प्राप्त अदालती कागजातअनुसार २७ मंसिरमा एस.एस.जी. इन्भेष्टमेन्टले पाटन उच्च अदालतमा दायर गरेको ९ बुँदे रिटमा अस्पतालको सेयर, चल अचल सम्पत्ति बिक्री वितरणमा रोक, कर्मचारी नियमित तलबबाहेक भुक्तानी सम्बन्धि कामबाहेक खाता रोक्का, वैकल्पिक संचालकलाई बैठकमा सहभागी गराउन आदेश, संचालक समितिका बैठकका निर्णय, खरिद मर्मत विवरण, बैंक खाताको स्टेटमेन्ट उपलब्ध गराउन आदेशको माग गरिएको छ ।

एस.एस.जी. इन्भेष्टमेन्टको रिटमाथि २९ असारमा पाटन उच्च अदालतले पहिलो सुनुवाई गरेको थियो । जसमा न्यायाधीसद्वय हरिप्रसाद पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको थियो । अदालतले आदेशअनुसार दुवै पक्ष ४ पुसमा उच्च अदालतमा उपस्थित भएका थिए । छलफलमा दुवै पक्षका कुरा सुनेपछि ४ पुसमा अदालतले एस.एस.जी. इन्भेष्टमेन्टका संचालकले माग गरेअनुसार आदेश दिएन बरु कारण देखाउ आदेश दिएको छ । अब उनीहरुले नियमित प्रक्रियाबाटै कानुनी लडाइ लड्नुपर्नेछ ।

यसअघि क्या. थापाले ३ साउनमा कम्पनीमा बराबर सेयर कायम र संचालक समितिमा समान प्रतिनिधित्वको माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यलयमा उजुरी दिएपछि अल्काका मालिकहरुको विवाद हेल्थआवाजले पहिलो पटक सार्वजनिक गरेको थियो । तर, कम्पनी रजिष्ट्रारले २२ भदौंमा सेयर बराबरी गर्ने र संचालक समितिमा प्रतिनिधित्वको कुरा साधारणसभाको भएको भन्दैं फर्काइदिएको थियो ।

स्रोतकाअनुसार १४ असोजमा कुमार थापा र क्या. थापालाई सँगै राखेर सहमति गर्ने प्रयास अगाडि बढाइएको थियो । त्यसका लागि अल्काका दुई मालिकहरुले ‘कन्सल्ट्यान्ट नेगोसियटर’ राखेर थालिएको सहमतिको प्रयास पाँच दिन नपुग्दैं भाँडिएको थियो । १९ असोजमा कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वरमा एस.एस.जी इन्भेष्टमेन्टले दर्ता गरेको निवेदनबाट त्यो कुरा पुष्टि हुन्छ ।

एस.एस.जी. इन्भेष्टमेन्टका संचालकहरुले कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वरमा कम्पनीको निरिक्षक, कानुन तथा लेखा विज्ञ नियुक्त गरेर छानविन गर्न र कम्पनीको साधारणसभा बोलाउन आवश्यक निर्देशनको माग गर्दै निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा एस.एस.जी. इन्भेष्टमेष्टले कम्पनीले अल्का अस्पतालमा सुशासन र पारदर्शिता ख्याल नगरेको, कम्पनी सचिव र दैनिक प्रशासनमा अनुचित प्रभाव पारी भेदभाव गरेको उल्लेख गरे । एस.एस.जी. इन्भेष्टमेन्टको उक्त निवेदनपछि कम्पनी रजिष्ट्रारको अल्कामा दुई जनाको टिम खटाएर पारदर्शिता र कानुनी पक्षको छानविन गरिरहेको छ ।

दुई मालिकको विवाद

१०० शैय्याको अल्का अस्पताल काठमाडौंका चलेका प्राइभेट अस्पतालमध्येमा पर्छ । ७ सय बढी कर्मचारी रहेको यसलाई कुमार थापाले फार्मेसी, पोलिक्लिनिक हुँदैं अस्पताल बनाएका हुन् । सुरुमा अल्कामा कुमार र उनका परिवारका सदस्यको एकल स्वामित्व थियो ।

११ साउन २०७६ मा पनौतीका कुमार थापाले कुशादेवीका अर्का व्यवसायी क्या. रामेश्वर थापासँग अल्का अस्पतालको सेयर किनबेचको सम्झौता गरे । जसअनुसार अहिले अल्का अस्पतालमा कुमार थापाको १४९५३६४ कित्ता शेयर छ भने क्या. थापाको एस.एस.जी. इन्भेष्टमेन्टका नाममा १४९५३६३ कित्ता शेयर छ ।

वि.सं. २०७८ सालसम्म दुवै पक्षबीच खासै विवाद थिएन् । त्यसपछि क्रमसः दुवै जनाबीच आर्थिक र कार्यसंचालनको विषयलाई लिएर विवाद देखिन थाल्यो । ११ साउन २०७६ मा ५० प्रतिशत शेयर बिक्री गरेको र तीन वर्षपछि थप १ प्रतिशत शेयर रामेश्वर थापाको नाममा हस्तान्तरण गर्ने सम्झौता भएको क्याप्टेन थापा पक्षको दावी छ । तर, कुमार थापाले पक्षले त्यो फरक सन्दर्भमा भएको भन्ने दावी गर्दै आएको छ । उसले क्या. थापाले ०७६ मा सेयर किनबेचको सम्झौता भएपनि २०७८ सालमा मात्रै आफूलाई सेयर बेचेवापतको पैसा दिएको दावी गर्दै आएको छ, जुन कुरा हेल्थआवाजको अघिल्लो समाचारमा कुमार थापाले समेत बताएका छन् ।

अहिले क्या. थापाले मुख्यतयाः करार सम्झौता अवधि नाघ्दा पनि उक्त १ प्रतिशत सेयर नदिएको, संचालक समितिमा समान प्रतिनिधित्व नदिएको, आफ्नो वैकल्पिक प्रतिनिधीलाई साधारणसभामा बस्न नदिएको, कम्पनीमा एकलौटी गरेको, आर्थिक पारदर्शिता नभएको भन्दैं पहिले कम्पनी रजिष्ट्रारको कार्यलय र त्यसपछि अदालतको ढोका ढकढकाएका छन् । साथै, क्या. थापाले कुमार थापा विरुद्ध साधारणसभाको माइन्युटमा आफ्नो हस्ताक्षर कीर्ते गरेर विश्वासघात गरेको भन्दैं प्रहरीमा समेत उजुरी दिएको स्रोतको दावी छ ।

कुमार थापाले भने आफूहरुले कम्पनीमा कुनै एकलौटी नगरेको बताए । ‘उहाँकै वित्तिय सल्लाहाकारको फर्मले अडिट गरेको हो । साधारण सभा उहाँहरुकै सहभागितामै भएको हो,’ उनले भने, ‘उहाँहरुले नै इन्टरनल र एक्स्टनल अडिट गर्नुभएको छ । मैले कम्पनीमा कसरी एकलौटी गरे ।’ उनले आफूले नभएर क्याप्टेन थापाले नै पैसा लिएको र एकलौटी गरेको दावी गरे ।

यसबारे क्या. रामेश्वर थापासँग हेल्थआवाजले सम्पर्क गर्दा उनको फोन स्वीच अफ थियो ।

यो पनि पढ्नुहोस्

अल्का अस्पतालका मालिकहरुबीच एक कित्ता सेयरको विवाद, कम्पनी रजिष्ट्रारमा उजुरी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ