काठमाडौं—युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्राइभेट लिमिटेड (युसीएमएस)ले एकै वर्षमा डेढ अर्बको कारोबार गरेको छ । युसीएमएसले सन् २०२३ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ (अपरिस्कृत) कारोबार गरेको कम्पनीको फाइनान्सियल तथ्यांकले देखाउँछ ।
युसीएमएसले सन् २०२२ मा १ अर्ब ३९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । उसले गत वर्षको भन्दा ८ करोड ७० लाख रुपैयाँले कारोबारमा वृद्ध गरेको हो ।
यसअघि युसीएमएसले सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३० करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३० करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९८ मा भैरहवामा स्थापना भएको युनिभर्सल मेडिकल कलेजले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बी फर्मालगायतका चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तरका शैक्षिक कार्यक्रमहरु अध्यापन गराउँदैं आएको छ । उसले भैरहवामै ५०० शैय्याको शिक्षण अस्पतालसमेत संचालन गरिरहेको छ ।
एभरेष्ट कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.को ६० प्रतिशत शेयर रहेको युसीएमएसको अध्यक्षमा रमेश शर्मा छन् ।
३५ हजार ६ सय स्क्वायर फिटमा फैलिएको मेडिकल कलेजले विभिन्न ६ सेगमेन्टमा सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ ।