२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लामा टाइफाइड विरुद्धको खोप लगाउन ३६० जना जनशक्ति परिचालन

जुम्लामा टाइफाइड विरुद्धको खोप लगाउन ३६० जना जनशक्ति परिचालन

दुई चरणमा खोप लगाइने


जुम्ला—जुम्लामा टाइफाइड विरुद्धको खोप लगाउन १ सय २० जना स्वास्थ्यकर्मी र २ सय ४० जना स्वयंसेवक गरी ३ सय ६० जना जनशक्ति परिचालन गरिने तयारी गरिएको छ । नेपाल सरकारले भूकम्प प्रभावित जिल्लामा खोप अभियान २०८०–८१ अन्तर्गत जुम्लाका (१६ देखि ४५ वर्ष उमेर समुह) ५४ हजार ६ सय ३५ जना नागरिकलाई टाइफाइड विरुद्धको खोप लगाईने तयारी गरेको छ ।

जुम्लाको जनसंख्या करिब १ लाख २० हजार बढी छ । जसमध्ये खोप उमेर समूहका साढे ५४ हजारलाई खोप लगाउने तयारी छ ।
भुकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम, जिल्लासँग सिमा जोडिएका जिल्लामा खोप अभियान चलाउने राष्ट्रिय कार्यक्रमअनुसार जुम्लामा पहिलो चरण ८ देखि १० पुससम्म र दोस्रो चरण ११ देखि १३ पुससम्म खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । ‘पहिलो चरणमा कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ । दोस्रो चरणमा चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा खोप लगाइने छ,’ उनले भने ।

पहिला कुनै खोप लगाएर एलर्जी भएका, एड्स भएको अवस्था, हालै उच्च ज्वरो, सिकिस्त बिरामी भएका, गर्भवती महिला र ६ महिनाभित्र स्तनपान गराई रहेका महिलालाई भने टाइफाइड विरुद्धको खोप लगाइने छैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप अनिवार्य हो भन्ने कुरा जनचेतना अभिवृद्धिमा जोड दिन जरुरी रहेको उनले बताए । जुम्लामा मंगलबार आयोजित सरोकारवालाको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने साझा प्रतिबद्धता गरेका छन् । गाउ—ँगाउँमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार, शान्ति सुरक्षा, खोप केन्द्र छनोट, खटिने जनशक्तिलाई तालिम लगायत विभिन्न सवालमा समन्वय सहकार्य र सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लाका साढे ५४ हजार नागरिक नछुट्ने गरी टाइफाइड विरुद्धको खोप अभियान सम्पन्न गर्न पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, जनप्रतिनिधि सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘पूर्वतयारीलाई मजबुत बनायौँ । भूकम्प प्रभावित जिल्लामा टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि खोप अभियान सञ्चालन गरिएको हो ।’

यसअघिनै ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाई सकेकाले अभियानअन्तर्गत १६ देखि ४५ वर्षमुनिका नागरिकलाई खोप लगाइने छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खोप अभियान सफल बनाउन र सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन सुरक्षा निकायले भरपुर सहयोग गर्ने बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) प्रतिनिधि तथा डाक्टर पुरुषोत्तम सेडाइले कुनै पनि क्षेत्रमा भूकम्पलगायतका विपद्पछि टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सञ्चालन गरेको बताए । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप लगाउन अनिवार्य छ । खोपबाट कोही नछुटोन्, कोही नदोहोरिउन भन्दै शतप्रतिशत नागरिकलाई खोपको पहुँचमा पु¥याउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘सोहीअनुसार जुम्लाका खोप लक्षित उमेर समूहका सबैलाई खोप लगाउन आबश्यक समन्वय सहकार्यमा जोड दिन जरुरी छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ