काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफ्नै एनजिओले गर्न लागेको एक कार्यक्रमका लागि सरकारी ढुकुटीबाट १० लाख रुपैयाँ छुट्याएको पाइएको छ । ७ पुसमा डा. पुकार सभापति रहेको नेप्लीज सोसाइटी अफ अग्र्यान ट्रान्सप्लान्टेसन (अंग प्रत्यारोपण समाज, नेपाल)ले काठमाडौंको होटल ¥याडिसनमा पहिलो राष्ट्रिय प्रत्यारोपण सम्मेलन गर्दैछ ।
उक्त एक दिने सम्मेलनका लागि शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र विकास समिति बोर्डले निर्णय गरेरै १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन लागेको हो । केन्द्र विकास समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल अध्यक्ष छन् भने डा. पुकार सदस्यसचिव हुन् ।
केन्द्रको बोर्डले गरेको निर्णय
रमाइलो त के छ भने विकास समितिमा रकम नभएको भन्दैं केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका सदस्यसचिव डा. श्रेष्ठले २४ भदौं २०७९ मा बसेको बैठकमा २२ असार २०७९ मा केन्द्रमा कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामी कुमार लामाको परिवारलाई क्षतिपूर्ति दिन भन्दैं सरकारसँग २० लाख रुपैयाँ माग गर्ने निर्णय गराएका थिए । तर, अर्थ मन्त्रालयले दिन नसक्ने भन्दैं ६ चैत २०७९ मा केन्द्रले क्षतिपूर्ति रकम उपलब्ध गराउन लेखेको पत्र केन्द्रलाई नै फिर्ता गरिदिएको थियो ।
विकास समितिमा रकम नभएको भन्दैं मृत्यु भएका बिरामीका परिवारलाई क्षतिपूर्ति दिन त्यसपछि पनि पुनः अर्थ मन्त्रालयको ढोका ढकढकाएका डा. श्रेष्ठले यसअघि पनि विकास समितिबाटै प्रत्यारोण सम्बन्धि २७ कात्तिक २०७९ मा भएको दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन गर्न भनेर अघिल्लो वर्ष २० लाख रुपैयाँ दिलाएका थिए । उक्त सम्मेलन स्वास्थ्य मन्त्रालय र केन्द्रको नाम जोडेर डा. पुकार नै अध्यक्ष भएको अंग प्रत्यारोपण समाजले नै गरेको थियो ।
डा. पुकार सभापति रहेको समाजले प्रायोजनका लागि लेखेको प्रायोजन प्रस्ताव पत्र
अझ त्यो भन्दा आश्चर्यलाग्दो पक्ष त के छ भने केन्द्रकी खरिद प्रमुखसमेत रहेकी डा. कल्पना श्रेष्ठले स्वार्थ बाझिने गरी विभिन्न औषधी र इक्वीपमेन्ट सप्लायर्सहरुलाई सम्मेलन प्रायोजनका लागि पत्र पठाएकी छन् । अंग प्रत्यारोपण समाजकी सचिव रहेकी उनी सम्मेलन आयोजक समितिकी अध्यक्षसमेत रहेकी छन् ।
हेल्थआवाजलाई प्राप्त प्रायोजन सम्बन्धि एउटा फर्मलाई पठाएको पत्रमा प्रिमियर प्रायोजनका लागि १० लाख रुपैयाँ, गोल्ड प्रायोजनका लागि ७ लाख ५० हजार रुपैयाँ, सिल्भर प्रायोजनका लागि ५ लाख रुपैयाँ, स्टलका लागि १ लाख रुपैयाँ र स्मारिकामा विज्ञापनका ३० र ५० हजार रुपैयाँ तोकिएको छ ।
