२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने 

मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने 


काठमाडौं– काठमाडौं महानगरपालिकामा रहेका औषधी पसलहरूलाई मापदण्डबमोजिम सञ्चालन गर्न महानगरपालिकाले आग्रह गरेको छ । स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गद महानगरमा रहेका अधिकांश औषधी पसलहरू मापदण्ड विपरीत रहेको उल्लेख गर्दै १० दिन  भित्रमा मापदण्डमा आउन आग्रह गरेको हो ।

अनुगमनका क्रममा महानगरभित्रका केही व्यवसायीले औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी चिकित्सकको प्रेस्किप्सन बिना अनधिकृत व्यक्तिबाट औषधी बिक्री वितरण भइरहेको र प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री वितरण हुने गरेको पाइएको महानगरले बताएको छ । विभागले औषधी पसलहरूको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटि देखिएको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए । उनले भने,– ‘अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधी पसल व्यवस्थापन नगर्ने आम समस्या हुन् ।’

तोकिएको समयपछि काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ । पौडेलकाअनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेहरूलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ ।

जनस्वास्थ्यमा लापरबाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको भन्दै यस्ता लापरबाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभाग तथा टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गरी उजुरी गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

तोकिएको समयभित्र सुधारको सङ्केत देखिएन भने गलत गर्नेहरूलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ