२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि  हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत

एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि  हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । शुक्रवार ३६ औँ विश्व एड्स दिवसको अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्यमन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआईभी सङ्क्रमण दर ७७ प्रतिसतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिसतले घट्नु यो क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताएका छन् । नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतीपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।

यसै बिच शुक्रवार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि ३६ औँ विश्व एड्स दिवस मनाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रवार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी बिच्छाले एचआईभी सङ्क्रमण दर घटाउनले नेपालले सफलता हासिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौती रहेको बताए ।

अहिले पनि समाजमा एचआईभी सङ्क्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकोले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउँदै यसको सङ्क्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना बिस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताइन । विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा। पापाले नेपालले एचआईभी सङ्क्रमण दर घटाउनमा गरेको काम प्रशंसनीय भए पनि चुनौती बाकी नै रहेको बताइन ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआईभी सङ्क्रमित रहेको जानकारी दिँदै अबको चुनौती सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

यो वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ रहेको बताउँदै डा. ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दाबी गरे । कार्यक्रम स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रको अध्यक्षता भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ